• २२ फागुन २०८२, शुक्रबार

मतदानमा ज्येष्ठ नागरिकको उत्साह

blog

काठमाडौँ, फागुन २२ गते । नवयुवा पुस्ताको आन्दोलनको जगमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दोस्रो विश्वयुद्धताका जन्मिएका मतदाताले समेत मतदान गरेका छन् । जसलाई सबैभन्दा ठुलो पुस्ता (ग्रेटेस्ट जेनेरेसन) पनि भनिन्छ । दोस्रो विश्वयुद्ध सन् १९३९ मा सुरु भई १९४४/०४५ सम्म चलेको हो । पश्चिममा अछाम र कञ्चनपुरदेखि कोशीको उदयपुरमा शताब्दी उमेर पार गरेका मतदाताले मतदान गरेका छन् । 

अछामको बन्नीगढी जयगढ गाउँपालिकाकी कमलादेवी शाही उमेरले १०७ वर्षको हुनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न बिहीबार उहाँ मतदान स्थल पुग्नुभयो । जयगढ गाउँपालिका–६, दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालयको मतदान केन्द्रमा उहाँले मतदान गर्नुभयो । डोली आकारमा बनाइएको कुर्सीमा बोकेर आफन्तले उहाँलाई मतदान केन्द्रसम्म पु¥याउनुभयो । 

शताब्दी पूरा भई मतदान गर्ने उहाँ एक्लो मतदाता भने होइन । कोशी प्रदेशको उदयपुरका १०२ वर्षीय अमृतबहादुर कार्कीले बिहीबार मतदान गर्नुभयो । उहाँले उदयपुरगढी नगरपालिका–६ स्थित नेपालटार माध्यमिक विद्यालयको मतदान केन्द्रमा मत हाल्नुभयो । उहाँसमेत आफन्तकै सहयोगमा मतदान केन्द्रसम्म पुग्नुभयो ।  

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष छ । औसत आयुको करिब डेढ गुणा बढी उमेर भएका मतदाताले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका हुन् । सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाका गङ्गादत्त भट्टले शताब्दी पूरा गरेको छ वर्ष बितेको छ । उहाँले भीमदत्त नगरपालिका–१० स्थित सिद्धनाथ माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभयो ।