काठमाडौँ, फागुन १६ गते । राजनीतिक दलले आफ्नो आम्दानीको उल्लेखनीय हिस्सा चन्दा तथा सहयोगबाट प्राप्त गरे पनि प्राप्त भएको चन्दा तथा सहयोगलाई पारदर्शी बनाएका छैनन् । प्रमुख राजनीतिक दलले चन्दा तथा सहयोगबाट नै करोडौँ रुपियाँ प्राप्त गर्दै आएका छन् । कानुनमा दलले कुनै व्यक्ति वा सङ्गठित संस्थाबाट २५ हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्किङ चेक वा बैङ्किङ ट्रान्सफरमार्फत मात्र गर्नुपर्ने स्पष्ट उल्लेख छ तर करोडौँ चन्दा तथा सहयोग प्राप्त गर्ने दलले आफ्नो आयव्ययको विवरण बुझाउँदा प्राप्त गरेको चन्दा तथा सहयोगलाई पारदर्शी बनाएका छैनन् ।
राजनीतिक दलले निर्वाचन आयोगमा आर्थिक वर्ष २०८१/८२ को आयव्ययको विवरण बुझाएका छन् । दलले बुझाएका विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी चन्दा तथा सहयोग प्राप्त गर्ने दल हुन् । नेकपा (एमाले) ले विशेष सहयोग शीर्षकमा सो रकम जनाएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले दलले बुझाएका लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आयोगले महालेखा परीक्षकको कार्यालयबाट थप जाँचबुझ गराउँदै आएको बताउनुभयो । “जाँचबुझबाट आएको प्रतिवेदन वा कैफियतका आधारमा दललाई आयोगले जवाफ माग्ने हो,” उहाँले बताउनुभयो ।
आयोगमा बुझाइएको विवरण अनुसार रास्वपाले दुई करोड ५४ लाख २५ हजार ५४ रुपियाँ चन्दा तथा सहयोगबाट आम्दानी गरेको हो । नेपाली कांग्रेसले एक करोड १९ लाख १२ हजार एक रुपियाँ चन्दा तथा सहयोग प्राप्त गरेको छ । आव २०८०/८१ मा कांग्रेसले एक करोड ७३ लाख रुपियाँ चन्दा तथा सहयोगबाट प्राप्त गरेको थियो । एमालेले गत आवमा १० लाख ६३ हजार १०८ रुपियाँ सहयोग प्राप्त ग¥यो भने आव २०८०/८१ मा ६२ लाख २४ हजार ५२० रुपियाँ सहयोग प्राप्त गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ३७ मा दलको कोष रहने र सो कोषमा दलले स्वैच्छिक आर्थिक सहयोग प्राप्त गर्न सक्ने उल्लेख छ । साथै सदस्यता शुल्क वा सदस्यता नवीकरण शुल्कबापत विधानबमोजिम प्रत्येक सदस्यबाट दलले शुल्क लिन पाउने व्यवस्था छ । सोही ऐनको दफा ३८ ले आर्थिक सहयोग लिन पाउने र नपाउने व्यवस्थालाई थप प्रस्ट्याएको छ ।
जस अनुसार सरकारी कार्यालय वा निकाय, सरकारको नियन्त्रणमा रहने सङ्गठित संस्था, सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी, सामुदायिक विश्वविद्यालय, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार, संस्था वा व्यक्ति वा व्यक्ति, नाम नखुलेको व्यक्ति वा संस्थाबाट दलले सहयोग लिन पाउन्न ।
सोविपरित दलले आर्थिक सहयोग प्राप्त गरे स्वैच्छिक आर्थिक सहयोग दिने व्यक्ति वा संस्थालाई त्यस्तो सहयोग बराबरको रकम जरिबाना गर्न सकिने दफा ५४ मा उल्लेख छ तर दलले प्राप्त गरेको सहयोग सम्बन्धमा जाँचबुझ नहुँदा प्राप्त गरेको सहयोगको स्रोत नै पहिचान हुन सकेको छैन ।
ऐनमा लिन नहुने आर्थिक सहयोग कुनै दलले प्राप्त गरेको प्रमाणसहितको उजुरी परेमा वा दलले त्यस्तो रकम प्राप्त गरेको छ भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा आयोगले त्यस सम्बन्धमा जाँचबुझ गर्ने उल्लेख छ । दफा ३९ ले जाँचबुझबाट दलले त्यसरी रकम प्राप्त गरेको देखिएमा आयोगले त्यस्तो रकम आयोगमा दाखिला गर्न सम्बन्धित दललाई आदेश दिने व्यवस्था छ तर हालसम्म दलले प्राप्त गरेको सहयोग सम्बन्धमा सो दफाबमोजिम जाँचबुझ भएको छैन । दलले आर्थिक सहयोग प्राप्त गर्दा त्यसको रसिद दिनुपर्ने, दलबाट कुनै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा दिने गरी दलले सहयोग प्राप्त गर्न नहुने कानुनमा व्यवस्था छ ।
लेभी र चन्दा दलीय आम्दानीको मुख्य हिस्सा
प्रमुख राजनीतिक दलले गत आर्थिक वर्षमा करोडौँ आम्दानी गरेका छन् । दलले नयाँ सदस्यता वितरण, नवीकरण र संसद् तथा जनप्रतिनिधिबाट उठाइएको लेभी र चन्दा सहयोगबाट आम्दानी गरेका छन् । विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, दोस्रो ठुलो दल नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको गत वर्षको भन्दा यस वर्षको आम्दानीमा वृद्धि भएको छ ।
राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको आर्थिक वर्ष २०८१/८२ को आयव्ययको विवरण अनुसार नेकपा (एमाले) ले सो आर्थिक वर्षमा सबैभन्दा बढी आम्दानी गरेको छ । एमालेले गत वर्ष छ करोड ३६ लाख ६९ हजार ८३२ रुपियाँ आम्दानी गरेको छ । सो दलको आव २०८०/८१ को आम्दानी मात्र एक करोड ५२ लाख ६१ हजार ९५९ रुपियाँ थियो । सदस्यता, लेभी र जनप्रतिनिधिबाट प्राप्त भएको रुपियाँ एमालेको आम्दानीको प्रमुख स्रोत हो । उसले सदस्यता र लेभीबाट मात्रै करिब चार करोड ५४ लाख १८ हजार ९२७ रुपियाँ प्राप्त गरेको हो । एमालेले जनप्रतिनिधिबाट एक करोड नौ लाख ९२ हजार प्राप्त गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४० ले दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आयव्ययको लेखा परीक्षण कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । सो व्यवस्थाबमोजिम माघभित्र दलले आआफ्ना लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका छैनन् ।
आयोगमा नेपाली कांग्रेसले बुझाएको विवरण अनुसार गत आर्थिक वर्षमा सो दलले तीन करोड ८८ लाख १० हजार ६३२ रुपियाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा सो दलले दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको थियो । सदस्यता, लेभी र नवीकरणबाट नेपाली कांग्रेसले दुई करोड ६५ लाख ४२ हजार ५५ रुपियाँ तथा चन्दा सहयोगबाट एक करोड १९ लाख १२ हजार एक रुपियाँ आम्दानी गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले गत आर्थिक वर्षमा दुई करोड दुई लाख ७० हजार ३९ रुपियाँ आम्दानी गरेको छ । सोअघि २०८०÷८१ मा माओवादी केन्द्रले एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको थियो । सो दल हाल नेकपा (एकीकृत समाजवादी) सँग एकीकरण गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरेको हो । माओवादी केन्द्रले सदस्यता, लेभी र नवीकरणबाट सो दलले एक करोड ७६ लाख ४४ हजार १३९ रुपियाँ आम्दानी गरेको हो । चन्दा तथा सहयोगबापत माओवादी केन्द्रले चार हजार ६०० रुपियाँ प्राप्त गरेको छ ।
रास्वपाको कुल आम्दानी चार करोड ४१ लाख १८ हजार ७७१ रुपियाँ छ । आव २०८०/८१ मा सो दलको आम्दानी तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ थियो । सदस्यता, लेभी र नवीकरण शीर्षकमा रास्वपाले एक करोड ८५ लाख ६८ हजार ११७ रुपियाँ प्राप्त गरेको छ ।