घोराही समाचारदाता
घोराही, जेठ २५ गते । बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई पनि लोभ्याउने ठाउँ हो, बङ्गलाचुली पार्क । दाङको बङ्गलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने बङ्गलाचुली पार्क पछिल्लो समय सबैको रोजाइमा पर्ने गरेको छ ।
घोराही बजारदेखि करिब ३५ किलोमिटर पूर्व उत्तरमा रहेको बङ्गलाचुली पार्क पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ । पार्क क्षेत्रमा रहेको हरियाली प्राकृतिक सुन्दरतासँगै दृश्यावलोकनका लागि निर्माण गरिएको भ्यु टावर, पार्कलगायतका संरचनाले सबैको ध्यान तान्छ ।
करिब २० हेक्टर क्षेत्रमा फैलिएको उक्त पार्क निर्माणका लागि बङ्गलाचुली गाउँपालिका र माण्डवी गाउँपालिकाले सहकार्य गरेका छन् । बङ्गलाचुली गाउँपालिका–५, मुकुर्टी निवासी सीमा पुनले दुवै पालिकाले गरेको लगानी र संरक्षणका कारण कुनै समय गौ चरिचरणका रूपमा रहेको ठुली पहाड अहिले पर्यटकीय केन्द्र रूपमा विकास भएको बताउनुभयो ।
उहाँले बङ्गलाचुली गाउँपालिकामै अग्लो पहाडका रूपमा रहेको पहाडलाई संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गरेकाले स्थानीयलाई घुमफिर गर्ने राम्रो ठाउँका रूपमा विकास भएको बताउनुभयो ।
ठुली पहाडलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि बङ्गलाचुली र माण्डवी गाउँपालिकासँगै प्रदेश र सङ्घीय सरकारबाट पाँच वर्षको अवधिमा पाँच करोड रुपियाँ लगानी गरिएको छ । बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले पार्क क्षेत्रलाई संरक्षणका लागि पर्खाल निर्माणसँगै दृश्यावलोकनका लागि भ्यु टावर, पार्क र प्रवेशद्वार, पिकनिक घर, बस्ने ठाउँ र प्रतीक्षालय, कार्यक्रम गर्ने स्थलसँगै हिँड्ने ठाउँमा टाइल बिछ्याउने र रातको समयमा समेत बस्न मिल्ने गरी सोलार बत्ती जडान गर्ने काम गरिएको बताउनुभयो ।