काठमाडौँ, जेठ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।
अनेरास्ववियुको महाधिवेशनका लागि कीर्तिपुर पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहाँबाट फर्किने क्रममा क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको हो ।
उहाँले क्रिकेट स्टेडियम निर्माणको प्रगति विवरण साथै समयमै सकिने वा नसकिने विषयको जानकारी लिनुभएको थियो ।
उहाँ प्रधानमन्त्रीमा नियुक्त भएलगतै मन्त्रिपरिषद्को बैठकबाट त्रिवि क्रिकेट रङ्गशालालाई एक सय दिनभित्र प्याराफिट र फ्लड लाइट जडान गरी अन्तर्राष्ट्रिय स्थलको बनाउने निर्णय गरिएको थियो ।
तर प्राविधिक कारणले निर्माण कार्य समयमै सम्पन्न हुन सकेको थिएन । गत फागुन २० गतेबाट रङ्गशालाको निर्माण कार्य सुरु भएको थियो ।