काठमाडौँ, जेठ २५ गते । मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा ‘मनसुन खण्डित’ भएको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।
मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको मौसमविद्हरूले औँल्याउनुभएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गोविन्द झाले भन्नुभयो, “पूर्वबाट मधेश, बागमती हुँदै पश्चिम सर्नुपर्ने मनसुन कोशीबाट पछाडि फर्केर पूर्वी एसियाका अन्य मुलुकतिर तेर्सिएको छ ।”
उहाँका अनुसार माथिल्लो वायुमण्डलमा सिर्जना हुने मनसुनी वायुका दुई वटा शाखा हाँगा हुन्छन् । तीमध्ये एउटा हाँगा अरब सागरतिर जान्छ भने अर्को हाँगा बङ्गालको खाडीतिर आउँछ । नेपालमा आउने मनसुनी वायु बङ्गालको खाडीको जलवाष्प बोकेर देशभर फैलनुपर्ने हुन्छ । मौसमविद् झाले थप्नुभयो, “यतिखेर बङ्गालको खाडीमा बलियो न्यूनचापीय प्रणाली सिर्जना हुन सकेको छैन, जसले मनसुनी वायुलाई आकर्षण गरेर आफूतिर तान्ने गर्छ ।”
पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको उहाँले बताउनुभयो । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यही बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको जानकारी झाले दिनुभयो ।
वरिष्ठ मौसम वैज्ञानिक तथा जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. मदनलाल श्रेष्ठका अनुसार १२ हजार किलोमिटरमाथिको वायुमण्डलमा पूर्वीय वायुको भन्दा पनि सुक्खा पश्चिमी वायुको प्रभाव रहँदा मनसुन ब्रेक हुने गर्छ । त्यो अवस्था बङ्गालको खाडीमा कमजोर न्यूनचापीय अवस्थाका कारण यतिबेला माथिल्लो वायुमण्डलमा सिर्जना भएको हो ।
अतिवृष्टि, अनावृष्टि र लुको जोखिम उच्च
यो वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । यसरी मनसुन ब्रेक हुँदा अब हुने वर्षाको चरित्रमा असर पर्छ । मौसम वैज्ञानिक श्रेष्ठले भन्नुभयो, “जसले कतै वर्षा हुँदै नहुने अनि कतै छोटो समयमा अत्यधिक वर्षा गराउँछ र क्षणिक वर्षाबाट हुने बाढी, पहिरोको जोखिम पनि बढाउँछ ।”
यो वर्ष तापक्रम पनि उच्च रहने प्रक्षेपण विभागले गरेको छ । यसलाई पनि अहिलेको मनसुन ब्रेकले सघाएको छ । कोशीबाहेकका छ वटा प्रदेशमा गर्मी बढ्दै गएको छ । सुदूरपश्चिम र मध्यक्षेत्रका तराई भू–भागमा गर्मी अधिक बढेको छ । धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियसआसपास अधिकतम तापक्रम पुगेको छ । पूर्वी तराईमा ३६ डिग्रीआसपास अधिकतम तापक्रम पुगेको छ । काठमाडौँमा पनि दुई दिनयता अधिकतम तापक्रम ३० डिग्री सेल्सियसआसपास रहन थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कृषिका लागि कतै सहज कतै जोखिम
मनसुन ब्रेक हुँदा कतिपय नेपाली किसानलाई फाइदा पुगेको छ भने कतिपयलाई जोखिम बढाएको छ । चैते धान काट्ने र सुकाउने चटारोमा रहेका किसानलाई फाइदा पुगेको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार भविष्यमा सम्भावित अतिवृष्टिप्रति पनि किसान चनाखो रहनैपर्ने सन्देश मनसुन ब्रेकले दिएको छ । खण्डवृष्टि, अतिवृष्टि र अनावृष्टिका कारण कतै धेरै वर्षा हुने, कतै हुँदै नभएर खडेरी लाग्ने र कतै एकैठाउँमा आरीघोप्टे पानी पर्ने सम्भावना प्रवल रहेकाले अहिल्यै सजग अपनाउन उहाँले अनुरोध गर्नुभयो । पहाडका गरायुक्त पाखोबारीमा राम्रो पर्खाल लगाउने, डुबान हुने तराईका खेतमा बलिया बाँधसहितका निकास बनाउनु पर्छ ।
माछापोखरीका मुखमा जाली लगाउन र गोलभेँडालगायतका तरकारीमा टनेल र छाप्रो हाल्न रिमालले सुझाउनुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                