काठमाडौँ, जेठ २५ गते । आइसिसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
डन्डीको फोर्टहिलमा स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिने भएको हो ।
यस सिरिजको पहिलो दुई खेलमा लगातार जित निकालेको नेपाल आज पुनः स्कटल्यान्डलाई हराउने तयारीमा छ । नेपाल आज यसअघिकै खेलाडीलाई लिएर मैदानमा उत्रँदैछ ।
नेपालले यस सिरिजको पहिलो खेलमा स्कटल्यान्डमाथि एक विकेटको रामोञ्चक जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।
हाल सिरिजमा १४ खेल खेलको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । १८ खेलबाट २२ अङ्क बनाएको स्कटल्यान्डको चौथो स्थानमा छ ।
शीर्षस्थानमा रहेको अमेरिको २८, दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २६ र तेस्रो स्थानमा रहेको ओमानको २४ अङ्क छ ।
लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो ।
नेपालले यस सिरिजको अन्तिम खेल मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।