• २५ जेठ २०८२, आइतबार

प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित

blog

फाइल तस्बिर

काठमाडौँ, जेठ २५  गते। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन माग गर्ने प्रतिपक्षी दलहरुको अडान कायमै रहेपछि आज पनि प्रतिनिधिसभाको बैठक तोकिएको समयमा बस्न सकेन। आइतबार दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठक आजै ३ः१५ बजे बस्ने सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर बैठक सरेको जनाएको थियो। दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सचिवालयले पुनः अर्को सूचना प्रकाशित गरी साँझ ५ः३० मा बस्ने उल्लेख गरेको थियो।

सो सूचना प्रकाशित भएको एक घण्टापछि अर्थात् ६ः३० बजे सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाउनुभयो। सभामुख देवराज घिमिरेले पटक पटक सहज रुपमा सभा सञ्चालन गर्न आग्रह गर्नुभए पनि विपक्षी दलहरुले अस्वीकार गर्दै विरोध जनाए। त्यसपछि सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाई बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयो।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो २ः०० बजे बस्नेछ।   प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्नुहुने कार्यसूची तय भएको थियो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा ९एकीकृत समाजवादी०लगायतले प्रतिनिधिसभा बैठक चल्न दिएका छैनन्। यही जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि छलफलपछि प्रतिपक्षी दलको विरोध कारण चल्न सकेको छैन।