• २५ जेठ २०८२, आइतबार

करेन्ट लागेर दुईको मृत्यु

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया) जेठ २५ गते। बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारू हुनुहुन्छ। शाहको आइतबार बिहान र थारुको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। 

 शाहलाई घर नजिकै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते शाहलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। 

यता  बढैयाताल गाउँपालिका–९, कान्तिपुरस्थित घर बनाउने क्रममा थारुलाई करेन्ट लागेको थियो। रड सिधा गर्ने क्रममा बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो। घाइते थारूलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको छ।