• १५ असार २०८१, शनिबार

विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न

blog

विजयकुमार साह 

ढल्केबर, जेठ १६ गते । विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । 

मुस्ताङको थासाङ गाउँपालिका –२, सानुसरे भीरमा सोमबार बिहान विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार चालकदलसहित सबैको मृत्यु भएको खबर आएको छ । विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका राजनकुमार गोलेसहित उहाँका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको मृत्यु भएको छ । 

मुक्तिनाथ दर्शन गर्न उहाँहरु जोमसोम जानेक्रममा विमान दुर्घटनामा परेको थियो । एकै परिवारको सात जनाको मृत्यु भएपछि आफन्त तथा गाउँबासी शोकमग्न हुनुभएको छ । आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएलगत्तै गाउँवासी चिन्तित बन्नुभएको थियो ।  

आफन्त तथा गाउँलेलाई सान्त्वना दिन मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो, उपप्रमुख सुनितासिंह बुढाथोकी र मधेश प्रदेश सरकार उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायत राजनीतिक दलका नेता तथा समाजसेवीहरु लोटा गाउँ पुग्नुभएको थियो । 

मृतकमध्ये राजन गोले नेकपा (एकीकृत समाजवादी) पार्टीका धनुषा जिल्ला सदस्य तथा धनुषा–काठमाडौं सम्पर्क मञ्चका पूर्वसचिव हुनुहुन्थ्यो । यसैगरी मकरबहादुर तामाङ पूर्व शिक्षक हुनुहुन्थ्यो । उहाँहरु शुक्रबार सार्वजनिक गाडीबाट पोखरा पुग्नुभएको थियो । शनिबार त्यहाँका फेवा ताललगायत धार्मिक स्थल घुमफिर गरी आइतबार जोमसोमका लागि हवाईयात्रा गर्नुभएको परिवारका सदस्यहरुले बताउनुभयो । 

जहाजमा ३ जना चालक दलका सदस्य र १९  यात्रु गरी २२ जना सवार हुनुहुन्थ्यो । जहाजमा दुई जर्मनीका, ४ भारतीय र १३ जना नेपाली नागरिक सवार हुनुहुन्थ्यो । मृतक सबैजनाको शव काठामाडौं ल्याउने तयारी भइरहेको छ ।