• ११ जेठ २०८१, शुक्रबार

वन संरक्षणमा महिला नेतृत्व सफल

blog

चाँदनी आचार्य

घोडाघोडी, जेठ १६ गते । कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।

घोडाघोडी नगरपालिका–१ र ४ मा पर्ने टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभामा उपस्थित महिलाले धेरै चुनौतीबीच जोखिम उठाउँदै वन जोगाउन लागेको अनुभव सुनाउनुभयो ।

त्रिवेणी महिला सामुदायिक वनका अध्यक्ष भीममाया तामाङले २४८ उपभोक्ता रहेको आफ्नो सामुदायिक वनको संरक्षणमा लागेको एक दशकभन्दा बढी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “संरक्षण थालेपछि वनको हैसियत पनि फेरिएको छ । ढलापडा काठ बिक्री वितरण गरेर आम्दानी पनि लिन पाएका छौँ । बेलाबेलामा घाँस–दाउरा खुलाएर उपभोक्ताको आवश्यकता पनि पूरा गर्ने गरेका छौँ ।”

टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मैनादेवी ढकालले वन जोगाउने कार्य सजिलो नभएको बताउनुभयो । 

उहाँले चारैतिर बस्ती रहेका आफू आबद्ध सामुदायिक वन घोडाघाडी सिमसारसँग जोडिएको र अतिक्रमणको उच्च जोखिममा रहेकोले उपभोक्तालाई वन वातावरणको महत्त्व बुझाउँदै संरक्षणमा जुटेको अनुभव सुनाउनुभयो । ४० हेक्टर क्षेत्रफल रहेको टेग्नुवा वनको सदस्य सबै महिला हुनुहुन्छ । भने अहिलेसम्म नेतृत्व पनि महिलाले नै गर्नुभएको छ । 

उहाँले भन्नुभयो, “साठी जना उपभोक्ताबाट संरक्षण सुरु गरिएको वनमा अहिले ११२ उपभोक्ता हुनुहुन्छ ।”समूहले वन जोगाउने मात्र होइन उपभोक्ताहरूको आर्थिक उपार्जनमा समेत उदाहरणीय काम गर्दै आएको छ । अध्यक्ष ढकालले दलित, निम्न आर्थिक अवस्था भएका उपभोक्ताका बिनाब्याज ऋण दिने, बाख्रापालन तथा बँगुर पालनमा अनुदान सहयोग गर्दै आएको बताउनुभयो । 

त्यसै क्षेत्रका प्रदेश सभा सदस्य तथा आर्थिक मामिला तथा योजना राज्यमन्त्री अम्मर साउदले घोडाघोडीको पर्यटन विकासमा समेत सामुदायिक वनमा आबद्ध महिलाले राम्र्रो काम  गरेको बताउनुभयो । 

राज्यमन्त्री साउदले घोडाघोडीको पार्किङ व्यवस्थापन, पिकनिक स्पट व्यवस्थापनलगायतका काममा महिलाहरूको सक्रियताले नै प्रदेश सरकारले सहयोग उपलब्ध गराएको भन्दै महिलाहरूको सक्रियताको प्रशंसा गर्नुभयो । 

यसैबीच शनिबार भएको साधारण सभामा सामुदायिक वनको संरक्षणमा लामो समय  वनहेरालुका रूपमा काम गरेका जयलाल भट्ट र सामुदायिक वनको विकासमा सहयोग गर्ने राज्यमन्त्री साउदलाई सम्मान गरिएको छ । नवनिर्वाचित नगरप्रमुख खड्क रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझा र वडा नम्बर ४ का वडा अध्यक्ष भरत शाहीलाई सम्मान गरिएको छ ।