• १९ चैत २०८१, मङ्गलबार

हरायो ढिँडोको स्वाद

blog

काभ्रेपलाञ्चोकको बेथानचोकमा रहेको पानीघट्ट । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको बाढीले घट्टको कुलो बगाइदिएको छ ।

काठमाडौँ, फागुन १० गते  । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८, मल्पीका राजेन्द्र केसीको घरमा ८० वर्षसम्म पाक्दै आएको घट्टको पिठो यतिखेर सम्झना मात्र भएको छ । उहाँको भान्सामा मिलमा पिसिएको मकैको ढिँडो पाक्न थालेको छ । पुर्खाैंदेखि पानीघट्ट व्यवसायमा आबद्ध उहाँको परिवारले बिजुलीबाट कुटानीपिसानी मिलमा कुटिएको मकैको पिठो खानु रहर नभएर बाध्यता हो । 

जोर घट्ट घुमाउने उहाँको परिवारको पुख्र्याैली पेसालाई असोज १० देखि १२ गतेसम्म आएको वर्षापछिको बाढीले तहसनहस बनायो । यसपछि उहाँसँगै सयौँ परिवारले पाँच दशकपछि बिजुलीबाट चल्ने मिलले पिसेको मकैको ढिँडो खाएका हुन् तर घट्टमा पिसेको पिठो जस्तो स्वाद मिलमा पिसेको पिठोको भएन ।  ढिँडोको स्वाद नै हराएको भन्दै ज्येष्ठ नागरिकहरूले छिटोभन्दा छिटो घट्ट पुनः घुमाउन अनुरोध गरे पनि सम्भव नै नभएको उहाँले उल्लेख गर्नुभयो । 

“पानी ल्याउने कुलोको नामनिसान नै छैन, कसैले अहिले गएर हे-यो भने यहाँ घट्ट थियो र भन्ने अवस्था छ,” केसीले गुनासो गर्नुभयो । कुलाको बाँधदेखि नै अवरोध भएकाले तत्काल बनाउन सक्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो । 

जन्मेपछि पहिलो पटक बिजुलीले चल्ने मिलले पिसेको ढिँडो खाँदा स्वाद नै पाउन नसकेको स्थानीय ज्येष्ठ नागरिक रामहरि केसीले दुखेसो गर्नुभयो । उहाँले आफूले यो उमेरमा यस्तो पनि होला भन्ने नसोचेको बताउनुभयो । 

अहिले गएर हेर्दा त्यहाँ घट्ट थियो र भन्ने पनि छन् । कुलोको कुरा त छाडौँ । घट्टको ढुङ्गासमेत छैन । अहिले आधुनिक प्रविधिका रूपमा बनायो भने एक लाख रुपियाँसम्म लगानी लाग्छ तर यसरी बनाउने हिम्मत उहाँहरूसँग छैन । घट्टसम्म चलाउन आवश्यक पानी र कुलो नै बनाउन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । 

बाढीले सबैभन्दा धेरै क्षति पारेको पनौती नगरपालिका–१२, भूमिडाँडामा मात्रै चार वटा पानीघट्ट बगाएको वडा अध्यक्ष जयराम केसीले बताउनुभयो । स्थानीयको रोजगारीका रूपमा रहेको पानीघट्ट बगाउँदा समस्यासँगै बिजुलीबाट चल्ने मिलमा कुटेको खानेकुरा खानु्परेको बाध्यता परेको उहाँले स्वीकार गर्नुभयो । 

अविरल वर्षापछि आएको पहिरोले सामुदायिक वन जाने बाटो बगाउँदा घाँसदाउरा गर्न पनि स्थानीयलाई सकस परिरहेको छ । पुर्खाैंदेखि प्रयोग हुँदै आएको गोरेटो र घोडेटो बाटा बगाएका छन् । 

वन जाँदा खानेपानीको रूपमा प्रयोग गर्ने कुवा छैन । यो अवस्थाले ग्रामीण अर्थतन्त्रलाई नै असर पार्न थालेको अध्यक्ष केसीले उल्लेख गर्नुभयो । घट्टधनी सङ्घ काभ्रेका सचिव रामहरि श्रेष्ठले पनौती–१, ¥याले, पनौती–८, पनौती १२, बेथानचोक गाउँपालिकाका सबै वडाका पानीघट्टमा बाढीले क्षति पु-याएको उल्लेख गर्नुभयो । त्यस्तै महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका, रोशी गाउँपालिकाका पानीघट्ट पनि बाढीले बगाएका छन् । अहिले पानीघट्ट बनाउन कम्तीमा एक लाख रुपियाँदेखि दुई लाख रुपियाँसम्म  लाग्न सक्छ । 

काभ्रेपलाञ्चोकमा रहेका घट्ट लामो (लङ) र छोटो (सर्ट) दुई थरीका छन् । सर्ट साफ्टले पिसानी मात्रै गर्ने गरेको छ, जसमा अन्न पिस्ने गरिन्छ भने लङ साफ्टले पिसानीलगायत धान कुट्ने, तोरी पेल्ने, काठ चिर्ने, ग्रामीण विद्युत् निकाल्ने कार्य गर्ने श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आंशिक र पूर्ण गरेर असोजको बाढीपहिरोले काभ्रेका कम्तीमा तीन सय पानीघट्टलाई असर पारेको छ, जसको पुनरुत्थान र निर्माणका लागि पाँच करोड रुपियाँभन्दा धेरै रकम आवश्यक पर्न सक्छ । काभ्रेपलाञ्चोकमा एउटा घट्टले २५ देखि ३० घरको खाद्यान्नको प्रशोधन, कुटानी, पिसानीको सेवा दिँदै आएको छ । पानीघट्ट नै मेटिएपछि हजारौँ परिवार प्रभावित बनेका छन् । 

Author
केशवराज पौडेल

उहाँ गोरखापत्र दैनिकको उपत्यका समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।