• १० कात्तिक २०८२, सोमबार

तिहारमा ३० जुवाडे पक्राउ, १७ लाख बरामद

blog

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १० गते । बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका ३० जना जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुका साथबाट १६ लाख ९९ हजार ६६५ रुपियाँ नगद बरामद भएको छ । “हामीले असोज २२ गतेदेखि कात्तिक ३ गतेसम्म जिल्लाका विभिन्न स्थानहरुमा जुवा खेल्दै गरेका अवस्थामा ३० जना जुवाडे पक्राउ गरेका छौँ, उनीहरुका साथबाट १६ लाख ९९ हजार ६६५ नगद रुपियाँसमेत बरामद गरेका छौँ, उनीहरुलाई कानुनअनुसार मुद्दा चलाएका छौँ” जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दीपक पातलीले भन्नुभयो ।

प्रहरी नायव उपरीक्षक पातलीका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका विभिन्न स्थानहरुमा जुवा खेल्दैगरेका अवस्थामा ३० जना जुवाडेहरुलाई पक्राउ गरिएको छ ।

प्रनाउ पातलीका अनुसार असोज २२ गते नेपालगन्ज उपमहानगरपालिका वडा २ बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेल्दै गरेका १४ जना जुवाडेलाई पक्राउ गरिएको थियो । उनीहरुका साथबाट १३ लाख ६३ हजार ८०० रुपियाँ नगद बरामद गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी असोज २५ गते खजुरा गाउँपालिका वडा ४ ‘जी’ गाउँस्थित ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरोबाट पाँच जना जुवाडे पक्राउ परेका थिए । उनीहरुका साथबाट प्रहरीले ४७ हजार ३० रुपियाँ नगद बरामद गरेको थियो ।

कात्तिक ३ गते कोहलपुर नगरपालिका वडा १५ चौधरीया गाउँस्थित पुरानो कुखुराको फार्मभित्र जुवा खेलिरहेका अवस्थामा १५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट दुई लाख ८८ हजार ८३५ रुपियाँ बरामद गरिएको प्रनाउ पातलीले जानकारी दिनुभयो ।

पक्राउ परेका जुवाडेलाई मुलुकी अपराध संहिताअन्तर्गत जुवासम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार कारबाहीका लागि मुद्दा चलाइएको बाँके प्रहरीले जनाएको छ ।