• ८ जेठ २०८१, मङ्गलबार

रात्रिकालीन व्यवसाय सञ्चालनको माग

blog

दमक समाचारदाता

दमक, जेठ १६ गते । झापाका प्रमुख व्यावसायिक केन्द्र बिर्तामोड र दमकमा रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउनुपर्ने माग उठ्न थालेको छ । सुरक्षालगायतका कारणले साँझ नपर्दै बजार बन्द गर्दै आएका व्यवसायीले कम्तीमा पनि राति १० बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरणको माग हुन थालेको छ । 

भरपर्दो सुरक्षा व्यवस्था र यातायातको सहजता भए राति अबेरसम्म व्यापार व्यवसाय चलाउन सकिन्छ, झापाका पुराना व्यवसायी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य उमेश डालमियाले भन्नुभयो । “जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड बेलुका अबेरसम्म खुला राख्नका लागि अब सबै सरोकारवालाले सोच्नुपर्छ,” उहाँले भन्नुभयो ।

बिर्तामोड बजार हप्तामा एक दिन वाणिज्य सङ्घको आग्रहमा बन्द हुँदै आएकोमा अब यो पनि खुलाउनुपर्ने माग उठ्न थालेको छ । “सोमबार खुल्दै आएको बिर्तामोड बजार अब बन्द नगर्न व्यवसायीको माग छ । शनिबार र आइतबार सार्वजनिक बिदा र सोमबार बजार बन्द हुँदा ठूलो मार पर्ने अवस्था छ,” मेची डिस्ट्रिब्युटर्स एसोसिएसनका अध्यक्ष राजेन्द्र थापाले भन्नुभयो ।

झापाको दमक बजार हरेक शुक्रबार बन्द हुँदै आएको छ । शनिबार र आइतबार सरकारी बिदा भएकाले अब शुक्रबार बजार बन्द हुन नहुने व्यवसायीले माग गर्न थालेका छन् । दमक उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष विमल खतिवडाका अनुसार समयसापेक्ष रूपमा व्यवसायलाई चलायमान बनाउनुपर्छ ।

उहाँले दमकमा रात्रिकालीन व्यवसाय गर्नका लागि पाँच वर्षअघिदेखि प्रयास हुँदै आए पनि सम्भव नभएको बताउनुभएको छ । “हामीले बारम्बार रात्रिकालीन व्यवसाय सञ्चालनका लागि माग गरेका हौँ तर भरपर्दो सुरक्षा व्यवस्थापनको सुनिश्चित भएन,” उहाँले भन्नुभयो ।

मुख्य बजार क्षेत्रमा पर्ने दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापाका अनुसार व्यवसायीले राति अबेरसम्म ढुक्क भएर बजार खोल्ने वातावरण बनाउनका लागि आफूहरू लाग्ने बताउनुभयो । “व्यवसायीले सुरक्षाको कुरालाई महत्त्वका साथ उठाउनुभएको छ र यसमा हामी सहजीकरण गर्छौं,” उहाँले भन्नुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंका अनुसार दमकमा शुक्रबार बजार बन्द नगर्ने र बेलुका अबेरसम्म बजार खोल्ने अवस्था सिर्जना गर्ने विषयमा छलफल सुरु भएको जनाउनुभयो । 

चार वर्षअघि रात्रिकालीन व्यवसाय सञ्चालनलाई प्राथमिकतामा राखेर स्थानीय दमक नगरपालिकाले दमकको मुख्य बजार क्षेत्रको सडकलाई पार्कका रूपमा विकास गरेर यसलाई नमुना बजार नामकरण गरेको थियो । केही समय चहलपहल बढे पनि यसको उचित हेरचाह र रेखदेख नभएका कारण फेरि अवस्था उस्तै बनेको छ । 

सडक पार्कको आसपासमा रहेका होटल तथा रेस्टुरेन्ट भने राति अबेरसम्म खुल्ने गरे पनि अन्य पसल खुल्ने गरेका छैनन् । एक करोड ३५ लाख रुपियाँको लागतमा पार्कसहितको नमुना बजार निर्माण गरिएको थियो । दमक नगरपालिकाको एक करोड २० लाख रुपियाँ र उपभोक्ताको १५ लाख रुपियाँभन्दा बढीमा यो निर्माण भएको हो ।