• १३ साउन २०८१, आइतबार

सशस्त्र प्रहरीको वरिष्ठ हवलदारसहित चार जनालाई अदालतबाट पक्राउ पुर्जी जारी

blog

शिवशङ्कर मिश्र

बारा, जेठ १५ गते । सशस्त्र प्रहरीको एकजना वरिष्ठ हवलदारसहित चारजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बारा जिल्ला अदालतले सशस्त्र प्रहरी बल मुख्यालय नम्बर–२ छिनमस्ता बाहिनी बर्दिवासका चारजना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । 

इलाका प्रहरी कार्यालय सिम्रौनगढको माग बमोजिम सशस्त्र प्रहरी बल मुख्यालय नम्बर–२ छिनमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरका घुमुवा सशस्त्र प्रहरी वरिष्ठ हवलदार अशोक साह सोनार, सशस्त्र प्रहरी हवलदार आत्माराम पटेल, सशस्त्र प्रहरी सहायक हवलदार रत्नसागर झा र सशस्त्र प्रहरी जवान सुनिलकुमार यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको बारा जिल्ला अदालतले जनाएको छ । 

पैसा दिएर भारतबाट हतियार ल्याउँदै गर्दा दुईजना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले हतियार काण्डमा नाम मुछिएपछि सशस्त्र प्रहरीका चार जनालाई बोलाएर एकपटक बयान लिएर हाजिरी जमानतमा छोडिएको बताउनुभयो । 

सशस्त्र प्रहरीका चारजना घुमुवाले भारतीय नागरिक लालबाबु कुश्वाहालाई पैसा दिएर हतियार खरिद गराई दुईजना भारतीयलाई नेपाल बोलाएर हतियारसहित पक्राउ गरेको बयानबाट खुलेपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीले गएको वैशाख २३ गते भारतको पूर्वी चम्पारणको लौखानका २३ वर्षीय पप्पुकुमार यादव र अखिलेश कुमार सिंहलाई सिम्रौनगढ नगरपालिका–१० बाट बी.आर.०१ सी १३६१ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा  दुई थान पेस्तोल र चार राउन्ड गोलीसहित पक्राउ गरेको थियो । 

पक्राउ परेका दुबैजना भारतीय युवकलाई सशस्त्र प्रहरीका घुमुवाले हतियार खरिद गर्न पैसा दिएका भारतीय नागरिक लालबाबु कुश्वाहाले पठाएको बयानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरीका (डीआईजी) गणेश ठाडा मगरले सशस्त्र प्रहरीका घुमुवा र हतियार सहित पक्राउ परेका भारतीय व्यक्तिहरुको मोबाइल कलको विस्तृत विवरण र बयान फेर्न दबाब दिइरहेको स्रोतले दाबी गरेको छ ।