• ९ जेठ २०८१, बुधबार

अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु

blog

स्वास्थ्य संस्था पु¥याउन बिरामीलाई गाडीमा चढाउँदै पालिका अध्यक्ष लिम्बू

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने अर्थात चढ्ने गाडी (सवारी साधन) लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सुरु गरिएको हो । 

गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति) ले पालिकाको सवारी साधनमार्फत बिरामीको उद्दार गर्न थाल्नुभएको हो ।

आफू चढ्ने सवारी साधनमा चढाएर गाउँपालिका अध्यक्ष लिम्बू आफैँले शनिबार एक बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पठाउनुभएको छ ।

अध्यक्ष लिम्बूले फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु खुपातालकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारी साधनमार्फत् ताप्लेजुङ जिल्ला अस्पतालसम्म पुग्ने प्रवन्ध मिलाउनुभएको हो ।

पथरिया र जन्डिसको समस्या भएकी बिरामी लिम्बूलाई छिरुवा बजारदेखि गाउँपालिकाको गाडी चढाएर जिल्ला अस्पताल पठाएको जनाइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षसमेत नवनिर्वाचित पालिका अध्यक्ष लिम्बूले आफ्नो निर्वाचन घोषणापत्रमै आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने भनी सार्वजनिक गर्नुभएको थियो ।

उहाँले निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दै पालिकाका बासिन्दा कोही बिरामी भएमा सवारी साधनका लागि आफू सम्पर्क गर्न आह्वान गर्नुभएको थियो । उहाँको घोषणाअनुसारको योजना शनिबारदेखि कार्यान्वयनमा आएको पाइएको छ । 

यता, नवनिर्वाचित अध्यक्ष लिम्बूको घोषणा तथा प्रतिवद्धता कार्यान्वयनमा आएसँगै चौतर्फी प्रसंशा सुरु भएको छ । जिल्लाकै एक बिकट भौगोलिक क्षेत्र भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोगमा आउनुले पालिकावासीका लागि ठूलो राहत पुगेको समाजका अगुवा बताउँछन् ।

त्यस्तै, स्थानीय जनताको सुविधाका लागि गाउँपालिको एक एम्बुलेन्स खरिद गर्ने योजना बनाएको पनि अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।