राममणि दाहाल
हेटौँडा, माघ २६ गते । बागमती प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्विकृत भएको छ ।
प्रदेश सभाको शनिबार साँझ बसेको बैठकले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्विकृत गरेको हो ।
यसअघि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले उक्त विधेयक दफावार छलफलका लागि पेस गर्नुभएकोमा प्रदेश सभा सदस्य रत्नप्रसाद ढकाल र छिरिङ दोेर्जे लामाले विधेयकमाथि आफ्नो धारणा राख्नुभएको थियो ।
विधेयकमाथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महर्जनले प्रदेशसभाबाट स्विकृतिका लागि निर्णयार्थ पेस गर्नुभएको थियो ।
यसैबिच बागमती प्रदेशसभामा पेस भएको चार वटा विधेयक प्रदेश सभा अन्तर्गतका समितिहरुमा छलफलका लागि पठाइएको छ । प्रदेशसभामा पेस भई सैद्धान्तिक छलफलभएको पाँच वटा विधेयकमध्ये चार वटा विधेयक प्रदेश सभाको बसेको प्रदेश सभाको बैठकले दफावर छलफलका लागि समितिमा पठाएको हो ।
प्रदेशसभाको बैठकमा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको तर्फबाट श्रम, रोगगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुभएकोमा प्रदेश सभाको बैठकबाट समितिमा दफावार छलफलका लागि पठाएको छ ।
प्रदेशसभाको बैठकले दुवै विधेयक शिक्षा स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले स्विकृति प्रदान गरेको छ । यस्तै उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संसोधन गर्न बनेको विधेयक प्रदेशसभाको उद्योग वाणिज्य तथा वातावरण समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले स्विकृति प्रदान गरेको थियो ।
प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित फिर्ता पठाउनुभएको थियो ।