• १४ चैत २०८२, शनिबार

कोहलपुर गोल्डकपको तयारी

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत १४ गते ।  कोहलपुर गोल्डकपको चौथो संस्करण आगामी वैशाख १९ देखि २६ गतेसम्म हुने भएको छ ।

कोहलपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका संयोजक कर्णबहादुर बस्नेतले २०८३ साल वैशाखमा चौथो कोहलपुर गोल्डकप सञ्चालन गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार यस संस्करणमा ‘ए’ डिभिजनका तीन वटा क्लब, विदेशी दुई वटा क्लब, मोफसलका दुई वटा क्लब र एउटा आयोजक टिमसहित आठ टिमको सहभागिता रहने बताउनुभयो । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले चार लाख रुपियाँको नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

खेलमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले फाइनल पुग्ने दुई टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गराइने साथै उनीहरूलाई स्थानीय होमस्टेको मौलिक खानपान र बासको अनुभव समेत गराइने व्यवस्था मिलाइएको बस्नेतले जानकारी गराउनुभयो ।

प्रतियोगितालाई थप व्यवस्थित, आकर्षक र व्यावसायिक बनाउन व्यवस्थापन तथा मार्केटिङको जिम्मेवारी ईश्वरी युनाइटेड प्रालिलाई दिइएको जानकारी गराइएको थियो ।

विगतका तीन संस्करण सफलताका साथ सम्पन्न भएका र यसपटक खेलकुदलाई पर्यटनसँग जोडेर नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । खेल तालिका तथा मुख्य प्रायोजकसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने बताइएको छ ।

गत वर्षको तेस्रो संस्करणमा पश्चिम नवलपरासीको दुधौली स्पोर्टस युवा क्लब विजयी भएको थियो भने आयोजक कोहलपुर रेसिङ साहारा क्लब उपविजेता बनेको थियो ।