• १३ साउन २०८१, आइतबार

प्रदेश सभाको दसौँ अधिवेशन सुरु : स्वतन्त्रको विजय दलका लागि चुनौती

blog

बागमती प्रदेश सभाको बैठकमा सहभागी प्रदेश सभाका सदस्य ।

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ १४ गते । बागमती प्रदेश सभाका सदस्यले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले दलहरूमाथि चुनौती थपिएको बताएका छन् । प्रदेश सभाको शुक्रबारबाट सुरु भएको दसौँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै प्रदेश सभा सदस्यले काठमाडौँमा वालेन्द्र साहसहित धरान, धनगढीलगायतका स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी बन्नुले महत्त्वपूर्ण सन्देश दिएको भन्दै दलहरूलाई यसबाट शिक्षा लिन आग्रह गर्नुभयो । दलहरूको बीचमा क्रम भङ्गता भएर स्वतन्त्र उम्मेदवार विजयी भएको भन्दै अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न बैठकमा माग गरिएको छ । 

बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभाबाट बनेको उच्च शिक्षा ऐनले प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न बाटो खोलेको र उच्च शिक्षाका क्षेत्रमा महŒवपूर्ण हुने बताउनुभयो । हेटौँडा अस्पताललाई दुई सय शøयामा स्तरोन्नति गरिने भन्दै उहाँले अगाडि भन्नुभयो, “धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरी हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण गर्ने योजनाका साथ काम भइरहेको छ ।”

सवारी चालक अनुमतिपत्र लिनका लागि प्रयोगात्मक केन्द्र थप गरेर यातायात क्षेत्रको सुधार गरिएको बताउँदै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशभित्र चल्ने सवारीसाधनमा विद्युतीय माध्यमबाट सवारी भाडा तिर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य सङ्घीय गणतन्त्रलाई बलियो बनाउने आधार स्थानीय तह भएकोले यसलाई बलियो बनाएर जानु आवश्यक रहेको बताउनुभयो । निर्वाचनमा सत्ताको दुरुपयोग भएको र सत्तारूढ दलको गठबन्धनले लोकतन्त्रमाथि, निर्वाचन प्रणाली, सङ्घीयता र राजनीतिक दलमाथि प्रश्न उठ्यो कि उठेन भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा दलहरूको अनुहार स्पष्ट भएको छ ।”

स्वतन्त्र उम्मेदको विजयले सबै राजनीतिक दललाई चुनौती थपिएको बताउँदै उहाँले परिवर्तनलाई देश र जनताको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । देशको राजधानी अस्तव्यस्त रहेको, सामाजिक असुरक्षा र हिंसाका घटना बढेको बताउँदै उहाँले सरकारको काम प्रभावकारी बनाउन प्रदेश सभाका समितिलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रतिनिधि सभा विघटनपश्चात् देश दुर्घटनातर्फ जाँदै गरेकोमा दलहरूको सुझबुझपूर्ण निर्णयले गठबन्धन निर्माण गरी राजनीतिलाई सही दिशामा लैजाने काम भएको बताउनुभयो । उहाँले घमण्ड र दम्भ छाडेर सहयोद्धा र सहयात्रीलाई सँगै लैजाने संस्कारको सुरुवात प्रदेश सभाको दसौँ अधिवेशनबाट गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लोकतन्त्रमा व्यक्ति राम्रो हुँदा स्वतन्त्र उम्मेदवारलाई समेत जनताले चुन्दारहेछन् भन्ने अहिले स्थानीय तह निर्वाचनले देखाएको भन्दै प्रदेश सभा र प्रदेश सरकारका लागि आवश्यक भौतिक संरचना निर्माणमा विगतमा एमाले नेतृत्वको सरकारले चासो नदिएको बताउनुभयो । उहाँले न्याय र जनताको सेवाका लागि अहिले सत्ता गठबन्धन बनेको जिकिर गर्दै कुरा र बोलीले मात्र हुँदैन, काम चाहिन्छ, व्यवहार र बोली ठीक हुनुपर्छ, भन्नुभयो । 

विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौडेल स्थानीय तहको निर्वाचनबाट लोकतान्त्रिक अभ्यासले सार्थकता पाएको बताउनुभयो । निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उहाँले अगाडि भन्नुभयो, “करोडौँ करोड खर्च नगर्दा र खर्च गर्ने हैसियत नहुँदा पनि नागरिकले पत्याउँदा रहेछन् भन्ने सन्देश निर्वाचनले दिएको छ । नेता पौडेलले निष्ठापूर्वक लाग्यो भने कुनै पारिवारिक विरासतबिना, कुनै ठूलै पार्टीको ठूलै नेताको आशीर्वाद नपाए पनि, पार्टीभित्रका बाहरू र दाइहरूले हात डोहो-याएर नल्याएको भए पनि नागरिकले पत्याउने रहेछन् भन्ने निर्वाचनले महत्त्वपूर्ण सन्देश दिएको बताउनुभयो । 

नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईले गठबन्धन तन्त्र आफूले राजनीति शास्त्रमा नपाएको भन्दै रासायनिक मल नपाएकोले प्रदेश र सङ्घ सरकार कहाँ छन् भनेर किसानले प्रश्न गरिरहेको बताउनुभयो । उहाँले देश आर्थिक रूपमा टाट पल्ट्याइबाट गुज्रने अवस्थामा पुगेको भन्दै अझै हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँ जाने सडक दूरावस्थामा रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रीना गुरुङले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले ठूला राजीनिक दलको क्रम भङ्ग भएको भन्दै यो दलप्रतिको वितृष्णा भएको बताउनुभयो । उहाँले विद्यार्थीले पुस्तक नपाएको र महँगीले सीमा नाघेको छ, भन्नुभयो ।

बैठकमा मुख्यमन्त्री पाण्डे, स्वास्थ्यमन्त्री नीमा लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यायदेशसहित पाँचवटा अध्यादेश प्रदेश सभाको बैठकमा पेस गर्नुभयो ।प्रदेश सभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।