जीवछ यादव
लहान, मङसिर ५ गते । नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्री कुलमा घिसिङले हुलाकी मार्गमा पर्ने भाँसिएको कमला पुलको निरीक्षण गर्नुभएको छ । निरीक्षणपछि उहाँले तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सञ्चालनमा नआउँदै भाँसिएको पुलको प्राविधिक अध्ययन गरेर मर्मत गर्न सकिन्छ कि अर्को पुल निर्माण गर्नुपर्ने हो यस विषयमा निष्कर्षमा पुगेर समस्या समाधान गरिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री घिसिङले भन्नुभयो,‘‘दुई घण्टा समय दिएर निरीक्षण अवलोकन गर्दा सिरहा र धनुषा जिल्लावासी मात्रै होइन, मधेशकै जीवन रेखा रहेको हुलाकी मार्गमा पर्ने पुलको सञ्चालन आवश्यक छ । काठमाडौँ फर्किएपछि परिणाम नै देखिने गरी काम थाल्छौं । तत्कालीन समस्या समाधान भनेको अस्थायी प्रकृतिको पुल हो । दीर्घकालीन समाधान भनेको पुललाई मर्मत गर्न सकिन्छ कि अर्को पुल बनाउनु पर्ने हो यस विषयमा प्राविधिक टोलीको निर्णय अनुसार अघि बढ्ने हो ।’’
मन्त्री घिसिङ युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासहित पुलको निरीक्षणमा पुग्नुभएको हो । उहाँको साथमा जेनजी अगुवा शिव यादव र पुरुषोत्तम यादवलगायत सहभागी हुनुहुन्थ्यो।
कमला पुलको निरीक्षण सकेर मन्त्री घिसिङ र गुप्ता डुङ्गा चढेर पूर्वतर्फ सिरहा आउनु भएको थियो । हुलाकी सडक निर्माणको लागि दबाब सिर्जना गर्दै लेखक तथा अभियानी रामरिझन यादवले ध्यनाकर्षणपत्र मन्त्री घिसिङलाई बुझाउनु भएको थियो । स्थानीयले ठाउँ ठाउँमा भासिएको पुल काम नलाग्ने भएकोले अर्को पुल निर्माण र पुल निर्माण गर्ने कन्सट्रक्शन र प्राविधिकलाई कारबाही गरिनुपर्ने माग मन्त्री घिसिङसँग गरेका छन् ।