राजकुमार भट्टराई
खोटाङ, मङ्सिर ५ गते । खोटाङको रावा बेसी गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरेको छ । अघिल्लो वर्ष जस्तै गाउँपालिकाले यो वर्ष पनि वडामै पुगेर योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको हो ।
गाउँपालिकाबाट छनोट भएका पालिका स्तरीय एवं वडाबाट छनोट भएका वडा स्तरीय योजनाहरु सम्बन्धित वडा कार्यालयमा पुगेर सम्झौता गरिएको हो । चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन भएको बजेटबाट सञ्चालन हुने योजनाहरु उपभोक्ताको सहजताका लागि वडामै पुगेर सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
कात्तिक २८ गते वडा नम्बर १ कुभिण्डेबाट सुरु भएको योजना सम्झौता कार्यक्रम मङ्सिर ४ बिहिबार वडा नम्बर ६ हौँचुरमा सम्पन्न भएको छ । अन्तिम दिन वडा नम्बर ६ हौँचुरमा ९ वटा योजना सम्झौता गरिएको वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । गाउँपालिकाले बैंकसँगको सहकार्यमा वडामै पुगेर योजना सम्झौतासँगै उपभोक्ता समितिको बैंक खाता पनि खोलिदिएको छ । वडा नम्बर ३ लामिडाँडामा प्रभु बैंक र अन्य ५ वटा वडामा राष्ट्रिय वाणिज्य बैंकमासँगको सहकार्यमा वडामै पुगेर योजना सम्झौतासँगै खाता पनि खोलिएको गाउँपालिकाका योजना शाखा प्रमुख विनोद राईले बताउनुभयो ।
कात्तिक २८ गते कुभिण्डेमा ७ वटा, २९ गते खार्पामा १५ वटा, ३० गते लामिडाँडा २२ वटा, मङ्सिर १ गते डुम्रेभारापानीमा १८ वटा र २ गते दुवेकोलमा ११ वटा योजना सम्झौता भएको राईले बताउनुभयो ।
योजना सम्झौताका लागि गाउँपालिकाको कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्न वडामै सम्झौता गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो । कागजपत्र नपुग्दा पालिका आएर पुनः वडामा फर्कनु पर्ने उपभोक्ता समितिको दुःख थियो । जसकारण सबै उपभोक्ताहरुको सहजताका लागि वडामा योजना सम्झौता गर्ने र बैंक खाता खोल्ने अभियान चलाइएको उहाँको भनाइ छ ।