शिवशङ्कर मिश्र
बारा, मङ्सिर १५ गते । बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिको समाधानका लागि जेनजी समूहका प्रतिनिधि र स्थानीय सुरक्षा निकायबीच औपचारिक वार्ता भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा शुक्रबार दिउँसो साढे ३ बजेदेखि वार्ता भएको हो ।
जेनजी समूहका १५ प्रतिनिधि सहभागी छन् भने जिल्ला सुरक्षा समितिका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको प्रशासनले जनाएको छ । जेनजी समूहले कुटपिटमा संलग्न व्यक्तिमाथि निष्पक्ष र दबाबरहित कारबाही, घाइतेको निःशुल्क उपचार तथा उचित क्षतिपूर्ति, आफ्ना पक्षधरको सुरक्षाको ग्यारेन्टी, साथै सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीमाथि कारबाहीको माग अघि सारेका छन् ।
बुधबार सिमरामा एमालेका नेताहरु सहभागी हुने कार्यक्रमको विरोधमा जुटेका जेनजी कार्यकर्तामाथि एमाले समर्थकसँग झडप भएपछि परिस्थिती उग्र बनेको थियो । घटनापछि जेनजी समूहले घटनास्थल आसपास निरन्तर प्रदर्शन गर्दै आएको छ ।
अहिलेसम्म वार्ता चलिरहेकाले शान्तिपूर्ण समाधानको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्राईले जानकारी दिनुभयो ।