• १५ असार २०८१, शनिबार

होमस्टे सञ्चालनमा उत्साहित कैलालीका कठरिया समुदाय

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ १३ गते । कैलालीका कठरिया थारु समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–११ तप्पा गाउँका कठरिया समुदायका युवायुवती होमस्टे सञ्चालनमा उत्साहित भएका हुन् । 

शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा  होमस्टे सम्बन्धी जनचेतनामुलक कार्यक्रममा सहभागी उहाँहरुले होमस्टेको महत्व बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचान सामाजिक विकासमा सामुदायिक होमस्टे सञ्चालनका लागि एकजुट भएर लाग्ने बताउनुभएको छ । 

गाउँका युवा सरद कठरियाले होमस्टे बारेमा सुनेको भएपनि त्यसको उद्देश्य थाहा नभएको बताउँदै जनचेतनामुलक कार्यक्रमबाट धेरैकुरा बुझ्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘तप्पा गाउँमा रहेको १४० घर सबै कठरिया समुदायको छ, हामीले आफ्नो कला संस्कृतिलाई चिनाउने अवसर होमस्टेबाट गर्नसक्ने रहेछौं ।’ सरद मात्र होईन सो गाउँका धेरै युवादेखि बयस्कसम्म होमस्टे सञ्चालनमा उत्साहित भएको बताउनुभयो ।  

आफ्नो समुदायको कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन कठरिया समुदायका लागि एउटा अवसर हुने स्थानीय युवा टिआर कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो ‘होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला संस्कृति चिनाउन पाउने छौ्ं, कठरिया समुदायको पहिचानको प्रचारप्रसार समेत हुनेछ ।’

भलभन्सा भोजप्रसाद कठरियाले बाहिरका मानिसलाई आफ्नो चालचलन अनुसार जे जे खानेकुरा छ बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउन होमस्टे राम्रो माध्यम बन्ने बताउनुभयो । ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्वरहेको बताउदै तारागाउँ विकास समितिका सदस्यसचिव मदनगोपाल बानियाले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आए कठरिया समुदायको कला संस्कृतिको संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो ।

पहलमानुपुर बजारदेखि दक्षिण लालबोजी सडकखण्डमा पर्ने तप्पा गाउँमा होमस्टे सञ्चालन आएपछि त्यस क्षेत्रको ग्रामीण पर्यटन विकास हुने समेत अपेक्षा गरिएको छ । होमस्टे सञ्चालनक लागि तारा गाउँ विकास समितिले एक दशक्देखि सहयोग गर्दैआएको छ । 

होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक संग्रालय, पाहुनाको स्वागत सत्कार र ग्रामिण पर्यटनको बजारिकरणमा सहयोग गर्दैआएको सदस्यसचिव बानियाले बताउनुभयो ।

तप्पा गाउँमा होमस्टे सञ्चालनका लागि लामो समयदेखि पर्यटन व्यवसायी डबल शाहले पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहले कैलालीमा ६० गाउँ कठरिया समुदायको रहेको जनाउँदै तप्पा होमस्टेले पर्यटन विकासका लागि कनेक्टिभिटीको कामगर्ने विश्वास व्यक्त गर्नुभयो ।  

शाहले कठरिया समुदायलाई नजिकबाट बुझेको बताउँदै भन्नुभयो ‘कठरिया समुदायको कला संस्कृति अत्यन्त राम्रो छ, पहिचान र संस्कृति जोगाउन हामस्टेले मद्दत गर्छ, गाउँको सरसफाई, आर्थिक आय आर्जन, सामाजिक विकासमा पनि सहयोग पुग्छ । साथै पर्यटन विकासमा कनेक्टीभिटिको समेत काम गर्छ ।’

होमस्टे सञ्चालनका लागि तारागाउँ विकास समितिका प्रशिक्षक घनश्याम ढकालले हाल नेपालमा पाँच हजार हाराहारीमा निजी तथा तीन हजार पाँचसय सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा रहेको जानकारी दिनुभयो ।