• १३ साउन २०८१, आइतबार

संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का पदाधिकारीको विदाई

blog

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १३ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गठित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रमबीच विदाई गरिएको छ । 

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले कार्यक्रममा धन्यवाद व्यक्त गर्नुहुँदै सबै पदाधिकारी तथा सदस्यहरुलाई विदाई गर्नुभयो । स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी बनाउनमा जेइओसीको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले प्रसंशा व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा पनि जेइओसी गठन गरी निर्वाचनलाई थप प्रभावकारी बनाउन आयोग लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

जेइओसी निर्वाचनका लागि ‘सञ्चार मुटु’ भएको चर्चा गर्नुहुँदै आयुक्त पौड्यालले उद्देश्य अनुरुप काम गरी निर्वाचन सफल बनाउनु भएकोभन्दै सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा जेइओसी सञ्चालन कार्यादेश र प्रशिक्षणको कार्यक्रम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गतेदेखि जेठ १३ गतेसम्म जेइओसीमा रहेका सदस्यहरुले राम्रो काम गर्नुभएको बताउनुभयो । निर्वाचनबारे जेइओसीको प्रतिवेदन पनि आयोगलाई प्राप्त भएकोले त्यसको अध्ययन गरी आगामी दिनमा थप प्रभावकारी बनाउनेगरी तयारी गरिने प्रतिवद्धता जनाउनुभयो । 

गृह मन्त्रालयका उपसचिव तथा जेइओसीका सदस्य देवी पाण्डे खत्रीले निर्वाचन अवधिभर जिम्मेवारी दिएर काम गर्ने अवसर प्रदान गरेकोमा आयोग परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । जेइओसी गठन लगत्तै त्यसको कार्यादेश र त्यसको कामबारे प्रशिक्षण दिइएको भए अझ प्रभावकारी काम गर्न सकिने उहाँले आयोगका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । निर्वाचनका गतिविधिबारे सही सूचना दिन जेइओसी आवश्यक रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय अनुसन्धान विभागका विष्णुमणि आचार्यले जेइओसीमा रहेर गर्नुपर्ने कामको गाइडलाइन शुरुमै आयोगले प्रदान गरेको भए काम थप प्रभावकारी हुने बताउनुभयो । आगामी निर्वाचनमा आयोगले त्यसमा सुधार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । 

आयोगका प्रवक्ता पौडेलको संयोजकत्वमा वैशाख १० गते गठित जेइओसीमा गृह मन्त्रालयका उपसचिव खत्री, नेपाली सेनाका प्रमुख सेनानी सुमन थापा मगर, सशस्त्र प्रहरीका किरणकुमार कठायत, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई, स्वास्थ्य सेवा विभाग, टेकुका उपसचिव बैकुण्ठराज गौतम, गृह मन्त्रालयका शाखा अधिकृत मित्रदेव लम्साल लगायत रहनुभएको थियो । 

स्थानीय तह सदस्य निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको थियो । निर्वाचनको परिणाम करिब सबै ठाउँबाट प्राप्त भएको छ । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका बाहेक सबै ठाउँको निर्वाचन परिणाम सार्वजनिक भएको छ । बाजुरामा पुनः मतदान गर्ने निर्णय आयोगले गरेको छ भने उदयपुरको मतगणना जारी छ । 

विदाई कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरु शालिग्राम शर्मा पौडेल, तुलसीबहादुर श्रेष्ठ, उपसचिवहरु कमल ज्ञवाली, कमलप्रसाद भट्टराईसहितका कर्मचारीहरुको सहभागिता थियो ।