• १७ असार २०८१, सोमबार

करेन्ट लागेर सातजनाको मृत्यु

blog

फाइल तस्बिर

शिवशङ्कर मिश्र
बारा, जेठ १३ गते ।
बारा जिल्लामा बार महिनामा सात जनाको करेन्ट लागेर मृत्यु भएको छ । सामान्य जानकारी तथा सावधानी समेत नअपनाउदा अनाहकमा सात जनाले ज्यान गुमाउनुपरेको हो ।

विद्युतीय वायरिङ्ग तालिम प्राप्त व्यक्तिबाट नहुनु तथा गुणस्तरहीन विद्युतीय समानको प्रयोग र असावधानी पूर्वक जथाभावी बिछाइएको वारको कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरी अनुसन्धान अधिकृतहरुको कथन छ ।

सिंचाई गर्नहोस् वा खानेपानी टंकीमा भर्न मोटर चलाउनेले सावधानी नअपनाउदा करेन्ट लागेर ज्यान गुमाउने घटनामा पछिल्लो समय वृद्धी भएको प्रहरी अधिकृतहरु भन्नुहुन्छ ।

यता करेन्ट लागेर देवताल गाउँपालिका वडा नम्बर–३ छोटकी आम्वा टोलका अन्दाजी ४० वर्षीय रामप्रवेश महतोको मृत्यु भएको प्रहरी चौकी दक्षिण झिटकैयाले जनाएको छ । आप्mनै घरमा जडान रहेको पानी तान्ने मोटर बनाउने क्रममा जेठ १० गते राति ७ बजे करेन्ट प्रवाह भई महतो गम्भीर घाइते हुनुभएको थियो ।

घाइते महतोलाई तत्काल उपचार गराउन नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा उपचारको क्रममा शुक्रबार साढे ९ बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मृत्तक महतोको शव परिक्षणगरी आवश्यक अनुसन्धानको प्रकृया सुरु गरिएको तथा शव परिवारजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

उता असोज ८ गते आफ्नै घरमा मोटरबाट पानी तान्ने क्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७ लक्ष्मी टोलमा करेन्ट लागेर ३४ वर्षीय सर्फुदिन अन्सारीको मृत्यु भएको थियो । मोटर चलाउन  लाग्दा करेन्ट लागेर गम्भीर घाइते भएका अन्सारीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लाने क्रममा बीच बाटैमा मृत्यु भएको थियो ।

यसैगरी असोज २४ गते तरकारी बारीमा सिंचाई गरी रहेको अवस्थामा पानी तान्ने मोटरमा करेन्ट प्रवाह भई महागढीमाई नगरपालिका वडा नम्बर–८ ब्रह्मपुरीमा ४५ वर्षीय रामेश्वर महतो कोइरीको मृत्यु भएको थियो ।

यसैगरी भदौ १६ गते सिम्रौनगढ नगरपालिका वडा नम्बर–४ गंगानगरमा ४८ बर्षे तेजालाल प्रसाद यादवको मृत्यु भएको थियो । मृत्तक यादवले आफ्नै खेतमा काम गरिरहेका बेला खेतमा सिंचाई गर्नका लागि मोटरमा जडान गर्न बिछ्याइएको तारमा करेन्ट प्रवाह भई यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै, साउन १९ गते महागढीमाई नगरपालिका वडा नम्बर–८ बेतौना टोल बस्ने ३२ वर्षे श्यामबाबु साहको करेन्ट लागेर मृत्यु भएको थियो । साह खेतमा शौच गरी मलद्वार धुने जादा खेतमा सिंचाईका लागि जडान गरिएको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह भई उहाँ मृत्यु भएको थियो ।

यसैगरी साउन २५ गते कलैया उपमहानगरपालिका वडा नम्बर–७ बरेवा टोल बस्ने ६० वर्षीय राजाराम भगत मालीको करेन्ट लागेर मृत्यु भएको थियो । सोही ठाउँका रवीन्द्र सिहंको घर ढलान गर्ने क्रममा विजुलीको तारबाट करेन्ट लागेर घाइते भएका मालीलाई उपचार गराउन वीरगञ्ज लैजादाबीच बाटोमा नै मृत्यु भएको थियो ।

यसैगरी असार १७ गते कलैया उपमहानगरपालिका वडा नम्बर–१४ बघवन टोल बस्ने ४५ वर्षे मदन जैसवालको करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको चापाकलमा जडान भएको मोटर चलाउन जादा जैसवाल करेन्ट लागेर गम्भीर घाइते भएका जैसवाललाई उपचारको लागि कलैया अस्पतालमा ल्याउने क्रममाबीच बाटोमा नै मृत्यु भएको थियो ।