• १३ साउन २०८१, आइतबार

शिवसताक्षी नगरपालिकामा दमकल किन्ने निर्णय

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ १३ गते ।
झापाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षहरु सहित वडाध्यक्षहरुले आफ्नो कार्यभार सम्हाल्नु भएको छ । मतपरिणाम एकैसाथ नआएकाले जिल्लामा दूई चरणमा प्रमुख तथा अध्यक्षहरुले शपथग्रहण गरेर आफ्नो कार्यभार सम्हाल्न भएको हो ।

शिवसताक्षीमा वारुणयन्त्र किन्ने निर्णय
बिहीबार शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीले आफ्नो कार्यभार सम्हाल्दै नगरपालिकाका लागि दमकल किन्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

यहाँ दमकल (वारुणयन्त्र) नभएका कारण आगलागीका घटनाका कारण ठूलो क्षति भएको भन्दै बारम्बार विरोध हुँदै आएको थियो । अति आवश्यकीय साधन दमकल समेत नभएको अवस्थामा यसको आवश्यकतालाई महसुस गरेर शुरुवातमा नै यो निर्णय गरिएको हो, थोप्राले भन्नुभयो ।

गौरीगञ्जमा कक्षा ११–१२ निःशुल्क
झापाको गौरीगञ्ज गाउँपालिकामा अब सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्ने सम्पूर्ण विद्यार्थीहरुले निःशुल्क पढ्न पाउने भएका छन् । कक्षा १० सम्म निःशुल्क शिक्षा भएपनि त्यो भन्दामाथि नभएका कारण धेरैले गरिबीका कारण ११ र १२ नपढी विद्यालय छाड्ने गरेको पाईन्छ ।

गौरीगञ्ज गाँउपालिका झापामा अध्यक्ष र उपाध्यक्ष दुबै महिला उम्मेदवार निर्वाचित हुनुभएको छ । अध्यक्षमा फुलवती राजवंशी र उपाध्यक्षमा पुजन न्यौपानेले आफ्नो कार्यभार सम्हाल्न सुरु गरिसक्नु भएको छ । गाउँपालिका अध्यक्ष राजवंशीका अनुसार आर्थिक अभाव र गरिबीका कारण नै विद्यालयबीचमा नै पढ्न छाड्नु पर्ने बाध्यता यहाँ आउन नदिने किसिमको निर्णय गरिएको हो ।

तीन जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा
यसैगरी, स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकामा निर्वाचित नगरप्रमुख छत्रपति सुवेदी र  उपप्रमुख जलवर्षा राजवंशीले पदभार ग्रहण गर्दै गर्भवती महिलाहरुलाई झापासहित आसपासका जिल्लामा उपचारका लागि जानु परेको अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

गौरादह नगरपालिका भित्र बसोवास गर्ने विपन्न वर्गका परिवारका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन दमक, विर्तामोड धरान, विराटनगरसम्मका अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

गरिबी कारणले गर्दा गर्भवती महिलाहरु अस्पताल जान नसक्ने अवस्था रहेकाले यो निर्णय गरिएको नगर प्रमुख सुवेदीले बताउनुभएको छ । अति विपन्नलाई हामीले निःशुल्क विमा पनि गरिदिने भएकाले एम्बुलेन्सको पनि सुविधा भएपछि अस्पतालमा जान समस्या हुनेछैन, उहाँले भन्नुभयो ।