• ९ जेठ २०८१, बुधबार

दुईदिने बिदाका कारण अस्पतालमा बिरामीको चाप

blog

विराटनगर समाचारदाता

विराटनगर, जेठ १३ गते   ।  साताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनको असर सरकारी अस्पतालमा परेको छ । शनिबार र आइतबार भएको सार्वजनिक बिदापछि सोमबार खुलेको कोसी अस्पताल विराटनगरमा बिहानैदेखि बिरामीको भीड लाग्दा उपचार र व्यवस्थापन लथालिङ्ग हुन पुगेको छ । 

बिहान ११ः३० बजेसम्म मात्र बहिरङ्ग (ओपीडी) सेवाको टिकट काट्ने समय तोकिएको भए पनि बिहानै लाइनमा बसेका सेवाग्राही दिउँसो १ः०० बजेसम्म पनि टिकट काट्ने लाइनमै थिए । ओपीडी कक्षमा खुट्टा राख्ने ठाउँसम्म थिएन । दैनिक एक हजारदेखि १२ सयसम्मले अस्पतालबाट ओपीडी सेवा लिने गरेकोमा कोसी अस्पतालमा सोमबार झन्डै दुई हजार जनाभन्दा बढी ओपीडी कक्षमा उपस्थित थिए । 

दुईदिने बिदाका कारण बिरामीले ओपीडी सेवा लिनका लागि पीडा सहेर दुई दिनसम्म घरमै बस्नु पर्ने बाध्यात्मक अवस्था आएकोले त्यसको समाधान खोजिनु पर्नेमा सेवाग्राहीले जोड दिएका छन् । सुलभ दरमा सरकारी सेवा लिन खोज्दा हाडजोर्नीलगायतको समस्या भएका बिरामीले समयमा उपचार नपाएको गुनासो गरेका छन् । 

आकस्मिक सेवा बाहेक बहिरङ्ग सेवामार्फत् उपचार गराउन खोज्नेहरूका लागि दुईदिने बिदाले समस्या पारेको अस्पतालमा भेटिनुभएका मोरङ धनपालथानका अशोककुमार मण्डलले बताउनुभयो । बिरामीको अधिक भीडका कारण प्रयोगशाला परीक्षण, रेडियोलोजी सेवा आदिसमेत नराम्ररी प्रभावित हुन पुग्यो । 

अस्पतालमा अधिक चाप बढ्दा हुने हतारोले प्रयोगशालाबाट गलत रिपोर्ट जाने समस्यासमेत आउने गरेको छ । महिनामा दुई पटक महिनावारी भएपछि स्वास्थ्य परीक्षण गराउन पुग्नुभएकी बुढीगङ्गा गाउँपालिका–४ कि अनिता श्रेष्ठको पिसाबको परीक्षण रिपोर्ट गलत आयो । अस्पतालको लापरवाही सच्याउन माग गर्दै श्रेष्ठले अस्पताल प्रशासन समक्ष गुनासो राख्नुभयो । “महिनामा दुई पटक महिनावारीको समस्या भएपछि म अस्पताल आएको हुँ तर प्रयोगशालाको रिपोर्टले म गर्भवती भएको गलत रिपोर्ट दियो,” श्रेष्ठले भन्नुभयो । उमेरले ४५ वर्ष पार गर्नुभएकी श्रेष्ठ गर्भवती भएको रिपोर्ट आएपछि भिडियो एक्स–रे गराउँदा उहाँको कलेजो बोसोले पुरिएको ‘फ्याट्टी लिभर’ को समस्या पहिचान भयो । श्रेष्ठ प्रयोगशालाको गलत रिपोर्टले बिरामी जोखिममा परेको गुनासो लिएर अस्पताल प्रशासनमा पुग्नुभएको थियो । 

अस्पताल प्रशासनले अधिक भीडका कारण अस्पतालबाट प्रवाह हुने सेवा प्रभावित भएको भन्दै आगामी दिनमा यस प्रकारको कमजोरी हुन नदिने तर्फ सचेत रहने जवाफ दिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले दुई दिन सार्वजनिक बिदा भएका कारण अस्पतालमा धेरै भीड बढेको र व्यवस्थापनमा समस्या भएको बताउनुभयो । कोसी अस्पतालको पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको प्रक्रिया अगाडि बढेका कारण पनि सेवा प्रवाहमा कठिनाइ आएकोले सकेसम्म सहज बनाउने प्रयत्न भइरहेको उहाँले जानकारी दिनुभयो । 

कोसी अस्पतालको मेडिकल र सर्जिकल वार्ड सञ्चालन हुँदै आएको पुरानो भवन भत्काउन थालिएको छ । त्यस ठाउँमा १० तले आधुनिक अस्पताल भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । नेपाल सरकारको तीन अर्ब ३३ करोड रुपियाँको लागतमा पाँच वर्षभित्र नयाँ अस्पताल भवन बनाउने योजना अगाडि बढेको र अहिले पुरानो भवन भत्काउन थालेका कारणले पनि बिरामी व्यवस्थापन गर्न गाह्रो भएको अस्पतालले जनाएको छ । 

सर्जिकल र मेडिकल वार्डलाई अहिले ओपीडी भवनको माथिल्लो तलामा सारिएको छ । रेडियोलोजी विभाग पनि सार्ने क्रममा रहेकोले केही दिन सेवा प्रवाह असहज हुनसक्ने अस्पतालले जनाएको छ । यद्यपि सेवाग्राहीले लिने सेवा प्रभावित नहुने गरी व्यवस्थापन मिलाउन आफूहरू लागिपरेको अस्पतालका जनसम्पर्क अधिकृत नवराज लुईटेलले बताउनुभयो ।