• ५ मंसिर २०८२, शुक्रबार

खजुरामा घुम्ती शिविर सञ्चालन

blog

खजुरा गाउँपालिकाको कार्यालय ।

लक्ष्मी तिमिल्सेना

जमुनाह, मङ्सिर ५ गते । बाँकेको खजुरा गाउँपालिकाले बिहीबारदेखि व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । 

खजुरा गाउँपालिकाको आव २०८२–८३ को स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन जनताको घरदैलोमा सेवा दिने लक्ष्य बमोजिम पालिकाको व्यवसाय करसम्बन्धी कार्यविधि, २०७७ को दफा ३ अनुसार नवीकरण गर्नुपर्ने व्यवस्थाअनुरूप अभियान नै सञ्चालन गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिनुभयो ।

अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागि घुम्ती शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । पालिकाले १२ दिनसम्म व्यवसाय दर्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

पालिकाले हिजो मङ्सिर ४ गते बिहीबार १ नम्बर वडा कार्यालयबाट घुम्ती शिविरको सुरुवात गरेको पालिकाले आज ५ गते शुक्रबार ‘सी’ गाउँ स्कुल परिसरमा शिविर सञ्चालन गरिरहेको छ । 

यस्तै, ७ गते आइतबार सिमलघारी –८ गते सोमबार ७ नम्बर वडा कार्यालय– ९ गते मङ्गलबार ४ नम्बर वडा कार्यालय, १० गते बुधबार ८ नम्बर वडा कार्यालय, ११ गते बिहीबार ५ नम्बर वडा कार्यालय, १२ गते शुक्रबार वडा नम्बर २ को स्वास्थ्य चौकीको कार्यालय र मङ्सिर १४ गते आइतबार गाउँपालिकाको कार्यालयमा शिविर सञ्चालन हुने जनाइएको छ ।