• १७ असार २०८१, सोमबार

मधेशमा दल परिवर्तनको उपहार पराजय

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ १२ गते । मधेश प्रदेशका जिल्लामा स्थानीय तह निर्वाचनको लागि दल परिवर्तन गरेर उम्मेदवार बनेकामध्ये अधिकाँश पराजित भएका छन् । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी) लगायत सबै दलमा दल परित्याग गरी अर्को दलमा प्रवेश गरेर प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष पदको उम्मेदवार बन्नेकाहरु पराजित भएका हुन । 

मधेश प्रदेशको एक मात्र महानगरपालिका विरगन्जको प्रमुखमा उम्मेदवार बन्न उम्मेदवारी मनोनय दर्ताभन्दा केहीँ दिन अगाडि जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको विजयकुमार सरावगी पराजित हुनुभएको छ । उहाँ गठबन्धनका जसपाबाट प्रमुखमा निर्वाचित राजेशमान सिंहबाट दोब्बर मतले पराजित हुनभयो । निकटम प्रतिस्पर्धी निवर्तमान प्रमुख सरावगीले २३ हजार ६७१ मत पाउनुभयो । निर्वाचित सिंहले ४६ हजार २१५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, मधेश प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा मनोनयन दर्ता गराउने अन्तिम दिन जानकीराम साहले नेकपा एमाले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँ दुई हजार ७२ मतसहित छैठो स्थान प्राप्त गरी पराजित हुनु भएको छ । यहाँ स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १३ हजार ४६५ मत ल्याएर प्रमुखमा निर्वाचित हुनुभएको छ ।

प्रमुखको टिकट पाउने आश्वासन पाएर जानकीराम उम्मेदवारी मनोनयको ६ दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । एमालेले शिवशंकर साह हिरालाई प्रमुखको उम्मेदवार बनाएपछि जानकीरामले एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवार बन्नुभएको थियो ।

त्यस्तै, सर्लाहीको मंलगवा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसबाट निर्वाचित निरसल साहले फेरि कांग्रेसबाट टिकट नपाएपछि जसपाबाट प्रमुखमा उम्मेदवार बनेर पराजित भोग्नुप¥यो । उहाँले चार हजार ६३९ मत प्राप्त गरेर प्रतिस्पर्धी रहनुभयो । सो पालिकामा नेपाली कांग्रेसका नागेन्द्रप्रसाद यादव नौ हजार ७८ मत ल्याएर प्रमुखमा विजयी हुनुभएको छ । 

त्यस्तै, जसपाका नेता सप्तरीको छिन्नमस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुर’ ले सो पार्टीबाट टिकट नपाएपछि नेपाल सद्भावना पार्टीबाट अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँ आठ सय मतका साथ सातौ स्थान पाएर पराजित हुनुभएको छ । 

सोही पालिकामा लोसपाका नेता जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादवले उक्त पार्टी परिवर्तन गरी जनता प्रगतिशील पार्टीबाट छिन्नमस्ता गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँले ८९८ मतका साथ छैटौं थानमा समिति भइ पराजित ब्योहोर्नु परेको छ । सो पालिका अध्यक्षमा लोसपाका विद्यानन्द चौधरी दुई हजार ८९५ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

यसैगरी, राजविराज नगरपालिकाका निर्वतमान प्रमुख शम्भुप्रसाद यादवले टिकट नपाएकै कारण उम्मेदवारी मनोनयन दर्ताका दिन जसपा त्यागेर नेकपा माओवादी केन्द्रबाट प्रमुखमा उम्मेदवार  बन्नुभएको थियो । उहाँले चार हजार ८०७ मत पाएर निकटतम प्रतिस्पर्धी रहनुभयो । राजविराज प्रमुखमा जसपाका भीमराज यादवले नौ हजार ६२४ मत पाएर निर्वाचित हुनुभएको छ । 

यस्तै, बोदेबरसाइन नगरापालिकामा जसपा त्यागेर एमालेबाट प्रमुखमा उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष अनोजकुमार यादव तीन हजार २७ ल्याएर तेस्रो, एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका मो. इस्लाम एक हजार आठ मत ल्याएर छैटौं स्थानमा पुग्नुभएको छ । त्यहाँ जसपाका आतेशकुमार सिंह पाँच हजार ६९३ मत ल्याएर निर्वाचित भएको छ । 

जसपा त्यागेर महदेवा गाउँपालिकाका निवर्तमान अध्यक्ष दिपककुमार यादवले कांग्रेसबाट अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । उहाँले दुई हजार २०५ मतका साथ प्रतिस्पर्धी रहनुभयो । त्यहाँ लोसपाका सुनिलकुमार मण्डलले चार हजार ५७० मत ल्याएर विजयी भएको छ ।  

यसैगरी, जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रसले टिकट नदिएपछि रुना झा नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवार बन्नुभयो । उहाँले १० हजार ८८५ मत ल्याएर निकटतम प्रतिस्पर्धी रहनुभयो । यहाँ उपप्रमुखमा गठबन्धनका कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत ल्याएर विजयी हुनुभएको छ । 

यस्तै, जसपाबाट टिकट नपाएपछि नेकपा माओवादी केन्द्रबाट राजविराज नगरपालिका उपप्रमुखमा उम्मेदवार बन्नुभएका प्रमिलाकुमारी साह चार हजार २५० मत ल्याएर तेस्रो स्थानमा पुग्नुभयो । त्यहाँ जसपाका इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित भएको छ । 

त्यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका उपप्रमुखमा कांग्रेसबाट टिकट नपाएपछि लोसपाबाट उम्मेदवार बन्नुभएका निवर्तमान उपप्रमुख कविताकुमारी सरदार एक हजार १८८ मत ल्याएर छैठौ स्थानमा खुम्चिनुभयो । त्यहाँ नेकपा(एस) का अनिताकुमारी चौधरी चार हजार ९९८ मत पाएर उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।