• ९ माघ २०८१, बुधबार

फेस्टिभलमा अन्ठानब्बे चलचित्र चयन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ९ गते । विश्वभरिका सांस्कृतिक चलचित्रको प्रवर्धनका लागि हरेक वर्ष नेपालमा आयोजना हुँदै आएको ‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’ को छैटौँ संस्करण माघ १७ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । महोत्सवमा नेपालसहित ४७ देशका ९८ वटा चलचित्र चयन भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

“हामीलाई प्राप्त करिब चार सय वटा चलचित्रलाई प्रारम्भिक चलचित्र चयन समूहले करिब डेढ महिना लगाएर हरेपछि ९८ वटा चलचित्र चयन गरेको छ । महोत्सवमा लघुचलचित्रसँगै कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रलगायत महिला, बालबालिका, मानव अधिकारका चलचित्र पनि प्रतिस्पर्धामा समावेश गरिएका छन् । दुई मिनेटदेखि साढे दुई घण्टासम्मको चलचित्र महोत्सवका लागि चयन भएको छ,” महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।

महोत्सवका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, संयुक्त अधिराज्य (बेलायत) बाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेतृ, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहनुहुने भएको छ । महोत्सवमा फेस्टिभलमा चलचित्र र कला प्रदर्शनका साथै चलचित्रको विषयमा अन्तर्क्रिया, मास्टर क्लास र कार्यशाला हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।