• १९ असोज २०८१, शनिबार

प्रिमियर गल्फमा सुक्रको एक्लो अग्रता

blog

प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सट प्रहार गर्दै सुक्रबहादुर राई । तस्बिर : एनपीजीए

काठमाडौं, जेठ ११ गते । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुर राईले एक्लो अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुक्रले बुधबार ६ अन्डर ६६ खेल्नुभयो । ५४ होलको समाप्तिसँगथै उहाँको कूल १६ अन्डर २०० स्कोर छ । दोस्रो स्थानमा झर्नुभएका निरज तामाङको १५ अन्डर २०१ स्कोर छ । बुधबार निरजले तीन अन्डर ६९ खेल्नुभयो । 

यसैगरी एमेच्योर वानचेन ढोन्डुप तेस्रो स्थानमा हुनुहुन्छ । बुधबार दुई अन्डर ७० खेल्नुभएको ढोन्डुपको कूल १२ अन्डर २०४ स्कोर छ । कूल १० अन्डर २०६ स्कोरका साथ घरेलु प्रो भुवन नगरकोटी चौथो स्थानमा हुनुहुन्छ । तेस्रो दिन उहाँले दुई अन्डर ७० खेल्नुभयो । पाँचौं स्थानमा रहनुभएका एमेच्योर महेन्द्र पगामी र पूर्ण शर्माको समान सात अन्डर २०९ स्कोर छ । 

बिहीबार सम्पन्न हुने चार दिने प्रतियोगिताको फाइनल चरणमा २२ प्रो र आठ एमेच्योरसहित ३० जनाबीच प्रतिस्पर्धा भईरहेको छ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम यस स्पर्धाको सुरुको ३६ होलमा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए ।

प्रतियोगितामा प्रो तर्फको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने प्रोले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिनेछ ।