• ५ जेठ २०८१, शनिबार

नेपाल टी–२० लिग मात्र मान्य, क्रिकेटरको तलब बढ्यो

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ ११ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल टी–२० फ्रेन्चाइज लिगलाई मात्र आधिकारिक मान्यता दिने भएको छ । क्यानको मङ्गलबार अबेर सम्पन्न बोर्ड बैठकले क्यानले  आयोजना गर्ने लिगमात्र नेपालको आधिकारिक फ्रेन्चाइज लिग हुने निर्णय गरेको हो । क्यान बैठकले नेपाल टी–२० लिगमा सहभागी टोलीको नाम  सार्वजनिक गरेको छ । 

जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, फार वेस्टर्न र लुम्बिनी वा भैरहवामध्ये एक टोली हुनेछ । क्यानले आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना गर्न लागेको नेपाल टी–२० लिग आयोजनाको लागि हालै मात्र भारतको  ‘सेभेन थ्री स्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी दिइसकेको छ । क्यानले ‘सेभेन थ्री स्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस वापत क्यानलाई ‘सेभेन थ्री स्पोर्ट्स’ ले वर्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउनेछ । 

क्यानले नेपालमा यसअघि निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका एभरेष्ट प्रिमियर लिग (इपीएल), पोखरा प्रिमियर लिग (पीपीएल)  र धनगढी प्रिमियर लिगले (डीपीएल) लाई राष्ट्रिय मान्यता नदिने र यी  फ्रेन्चाइज लिगलाई क्षेत्रीय स्तरको प्रतियोगिताको रुपमा मात्र आयोजना गर्न अनुमिति दिने निर्णय पनि गरेको छ । 

यसैगरी क्यान बैठकले केन्द्रीय सम्झौतामा रहेका राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीको तलब बढाउने निर्णय पनि गरेको छ । क्यानले ए, बी र सी श्रेणीमा रहेका खेलाडीको तलबमा मासिक १० हजार बढाउने निर्णय गरेको छ । क्यानले यसअघि ए, बी र सी श्रोणीका खेलाडीको मासिक तलब क्रमशः ५०, ४० र ३० हजार दिँदै आएको थियो । 

यस्तै महिलातर्फ ए र बी श्रोणीमा रहेका खेलाडीको तलबमा मासिक ६ तथा सी श्रेणीमा रहेका खेलाडीको मासिक ५ हजार बढाउने निर्णय गरेको छ । यसअघि ए, बी र सी मा रहेका महिला खेलाडीले मासिक क्रमशः १५, १२ र १० हजार रुपियाँ पाउँदै आएका थिए । 

क्यान बैठकले क्रिकेट मैदानमा काम गर्ने सबै कर्मचारीको मासिक तलबमा तीन हजार, मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र टियु पिच क्युरेटरको मासिक ६ हजार तलब वृद्धि गर्ने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।