रमेश विश्वकर्मा
गुल्मी, वैशाख ११ गते। गुल्मी उद्योग वाणिज्य सङ्घले तम्घासको नुन्थलामा आयोजना गर्न लागेको ‘पाँचौं गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज (शुक्रबार)देखि सुरु हुँदै छ। यो महोत्सव वैशाख २३ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
“गुल्मी जिल्लाको सम्पन्नता र समृध्दिको निकासः शिक्षा, स्वास्थ्य, कृषि पर्यटनमा आधारित व्यापारको विकास” भन्ने मुल नारासहित महोत्सवमा स्थानीय कला, संस्कृति र उत्पादनको प्रदर्शनमा विशेष जोड दिने बताइएको छ। स्थानीय उत्पादनको प्रवर्धन, कला–संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्धनसँगै जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउनु महोत्सवको प्रमुख उद्देश्य संघका अध्यक्ष मृगेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार स्थानीय कला संस्कृति, कृषि, घरेलु हस्तकला, पशुपालन लगायतका स्टलहरु राख्नका लागि स्थानीय तहहरुसँग समन्वय गरिएको छ। महोत्सव हेर्न आउने दर्शक, कलाकर्मीहरुको बिमा, प्राथमिक उपचार, स्टल तथा स्टेज व्यवस्थापनको काम गरिएको हो। महोत्सव स्थलमा दुई सयभन्दा बढी स्टलहरु रहनेछन्। जसमा विशेषगरी स्थानीय कृषि उत्पादन, घरेलु उद्योगका सामग्री, हस्तकला तथा व्यापारिक वस्तुहरुको प्रदर्शनी र बिक्री गरिनेछ।
कृषि उद्यमी र घरेलु हस्तकलाका सामग्रीहरुको निःशुल्क स्टलको व्यवस्थापन गरिएको छ। यो महोत्सवको जलपरी, बाल उद्यान, कृषि प्रदर्शनी, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहनेछ। महोत्सवबाट प्राप्त नाफा रेसुङ्गा क्षेत्रको पर्यटन प्रवर्धनमा लगानी गर्ने योजना रहेको आयोजकले जनाएको छ। यस जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकारहरु, विभिन्न संस्कृति झल्किने झाँकीहरु पनि प्रदर्शन गरिने सङ्घले जनाएको छ।
कृषि, घरेलु उद्योग र पर्यटनलाई विशेष प्राथमिकता दिनुका साथै साना तथा घरेलु उद्यमीहरुलाई प्रोत्साहन गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको छ। महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा पाँच करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले महोत्सवको उद्घाटन गर्नुहुनेछ।