• १३ असोज २०८१, आइतबार

नेविसङ्घसहित १५ विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ

blog

तस्बिर : कविता थापा

काठमाडौं, जेठ ११ गते । नेपाल विद्यार्थी संघसहित १५ विद्यार्थी सङ्गठनले बुधबार दुई घण्टा आयल निगम घेराउन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले निगममा घेराउ गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार बिहान ११ देखि १ बजेसम्म दुई घण्टा १५ विद्यार्थी सङ्गठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगम घेराउ गरेको जानकारी दिनुभयो ।

नेपाल विद्यार्थी सङ्गठनको इतिहासमा नेविसङ्घ सत्तामा होस् वा सत्ताभन्दा बाहिर सधैँ जनता र विद्यार्थीको पक्षमा उभिने गरेको उहाँको भनाइ छ ।

मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने बताउनुहुँदै उहाँले जसरी भए पनि मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने बताउनुभयो ।

आइतबार रातिदेखि लागू हुनेगरी सातामै दोस्रो पटक निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपियाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिण्डरमा दुई सय रुपियाँले बढेको थियो ।

मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपियाँ पुगेको छ भने मट्टीतेल र डिजलको १६३ रुपियाँ तथा एक सिलिण्डर ग्याँसको मूल्य १८ सय रुपियाँ  तोकिएको छ ।