• १२ असार २०८१, बुधबार

भ्रष्टाचार रोक्न जनलोकपालको विकल्प छैन : यादव

blog

विजयकुमार साह
ढल्केवर, जेठ ११ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुटतन्त्र र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताउनुहुँदै शक्तिशाली जनलोकपाल आयोग गठनको विकल्प नरहेको भन्नुभयो ।

मङ्गलबार महोत्तरीको गौशालामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामाना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष यादवले जनलोकपाल मार्फत १५ वर्षदेखि उच्च तहमा रहेका कर्मचारी र मन्त्रीको सम्पती शुद्धिकरण गरी अवैध ठहरिएका सम्पती जफत गरेर सरकारीकरण तथा गरिब जनताको विकासमा लगाउनुुपर्ने भन्नुभयो ।

जबसम्म लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचारी रहेसम्म देशको आर्थिक विकास सम्भव हुँदैन । यसका लागि संविधान संशोधन पनि गर्नुपर्दैन । शक्तिशाली जनलोकपाल आयोग गठन गरे पुग्छ, उहाँले भन्नुभयो ।

सम्बोधनकै क्रममा अध्यक्ष यादवले भर्खर सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तुलनात्मक रुपमा पार्टीलाई फाइदा पुगेको बताउनुभयो । पहिलो चरणको तलुनामा यस पटकको स्थानीय तहमा प्रमुख र वडास्तरमा बढी उम्मेदवार निर्वाचित भएको उहाँले जानकारी दिनुभयो ।

एक अर्को प्रसङ्गमा अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्दै भन्नुभयो, जनता निराश हुने कुनै पनि काम नगर्नु र जनताको चाहनाअनुसार विकासको गतिलाई अगाडि बढाउन सुझाव दिनुभयो ।