• १२ असार २०८१, बुधबार

सरकारी अस्पताल व्यवस्थित बनाउने प्रमुख काफ्लेको निर्णय

blog

यादवराज पुरी
रौतहट, जेठ ११ गते ।
रौतहटको चन्द्रपुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख सञ्जय काफ्लेले चन्द्रनिगाहपुरको अस्तव्यस्त सरकारी अस्पताल व्यवस्थित बनाउने पहिलो निर्णय गर्नुभएको छ ।

नगर उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको शपथग्रहण कार्यक्रमको अवसरमा नेपाली काँग्रेसका नगरप्रमुख काफ्लेले उक्त निर्णय सुनाउनुभएको हो ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालको एक्स–रे मेशिन झण्डै दुई वर्षदेखि बिग्रिएर थन्किएको छ । अस्पतालमा मुटुको रक्तचाप र गतिबारे जानकारी लिने इसीजी मेशिन र अल्ट्रासाउन्ड सोनाग्राफी टेस्ट (युएसजी) मेशिन नभएको कारण बिरामी अन्य अस्पतालमा महँगो उपचार गर्न बाध्य छन् ।

अस्पतालको कमजोर व्यवस्थापन पक्ष र प्रमुख चिकित्सकको उदासीनताले अस्पताल दिनदिनै अस्तव्यस्त हुँदै गएको जनगुनासा आइरहेको बेला प्रमुख काफ्लेले अस्पतालमा चाहिने अत्यावश्यक स्वास्थ्य उपकरण खरिदको लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउन प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देललाई आग्रह गर्नुभयो ।

नगर प्रमुख काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ का वडाध्यक्षमा विजयी हुनुभएको थियो । स्थानीयतहमा पाँच वर्षको अनुभव बटुल्नु भएको प्रमुख काफ्लेले नगरमा स्वास्थ्य, शिक्षा र व्यवस्थित सहरीकरणमा विशेष जोड दिने बताउनुभयो । कमजोर आर्थिक स्थिति भएका नगरवासीलाई रोजगारमूलक, सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गरी दैनिक जीवनयापन सहज बनाउने प्रतिबद्धता जाहेर गर्दै उहाँले उक्त कार्यक्रमलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।