• १५ असार २०८१, शनिबार

आयात प्रतिबन्धको सकारात्मक असर

एक महिनामै घट्यो २० अर्ब आयात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ११ गते । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको आयात वृद्धिदरमा ‘बे्रक’ लागेको छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ । 

त्यसअघि चैतमा एक खर्ब ५७ अर्ब ९२ करोड रुपियाँको वस्तु आयात भएको थियो । चैतको तुलनामा वैशाखमा करिब २० अर्ब रुपियाँ बराबरको आयात कम देखिएको हो । गत फागुनको तुलनामा चैतमा तीन अर्ब ३४ करोड रुपियाँले आयात घटेको थियो ।

भुक्तानी सन्तुलनमा दबाब परेपछि सरकारले पुसदेखि नै आयातमा कडाइको नीति लिँदै आएको छ । पुसको पहिलो हप्ता ४७ वस्तुको आयातमा ५० र शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था लागू गरिएको थियो । त्यस्तै वैशाख दोस्रो हप्ता सरकारले राजपत्रमा सूची प्रकाशित गर्दै विभिन्न दसवटा वस्तुको आयातमा बन्देज लगाएको थियो । 

आगामी असारसम्म लागू हुनेगरी कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा (औद्योगिक कच्चापदार्थबाहेक), छ सय डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्च माथिका रङ्गिन टेलिभिजनको आयातमा प्रतिबन्ध लगाइएको थियो । त्यस्तै जिप, कार र भ्यान (एम्बुलेन्स र शव वाहनबाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तास पनि असारसम्म आयात गर्न बन्देज लगाइएको छ । 

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन परीक्षणका लागि जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आइसकेको छ । आयात कडाइका लागि सरकारले अख्तियार गरेका यिनै नीतिको असर वैशाखको आयातमा देखिएको हो ।

 

आयात १६ खर्ब नाघ्यो

चालू आर्थिक वर्षको पहिलो दस महिना (साउन–वैशाख)सम्म समग्र आयातको आकार भने १६ खर्ब रुपियाँ नाघेको छ । विभागका अनुसार वैशाखसम्म नेपालले १६ खर्ब चार अर्ब ६५ करोड रुपियाँको वस्तु आयात गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो । यस अवधिमा पेट्रोलियम पदार्थ मात्रै सवा दुई खर्ब रुपियाँको आयात भएको छ । यो सोही अवधिमा भएको कुल आयातको करिब १५ प्रतिशत हो । 

सबैभन्दा बढी एक खर्ब २३ अर्ब ७० करोड रुपियाँको डिजेल, ५४ अर्ब ८३ करोड रुपियाँको पेट्रोल र ५२ अर्ब रुपियाँको एलपी ग्यास आयात भएको छ । पेट्रोलियम पदार्थबाहेक सबैभन्दा बढी आयात कच्चा भटमास तेल ४९ अर्ब ४१ करोड र अर्ध प्रशोधित फलाम ४३ अर्ब ५५ करोड रुपियाँ बराबरको छ । 

यस अवधिमा नेपालले सबैभन्दा धेरै भारतबाट नौ खर्ब ९५ अर्ब रुपियाँको वस्तु आयात गरेको छ । यो कुल आयातको करिब ७१ प्रतिशत हो । त्यसपछि चीनबाट दुई खर्ब २६ करोड, इन्डोनेसियाबाट ४३ अर्ब ७४ करोड, संयुक्त राज्य अमेरिकाबाट ४२ अर्ब ४७ करोड र संयुक्त अरब इमिरेट्सबाट ४० अर्ब रुपियाँको वस्तु आयात भएको छ । 

निर्यात ६० प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको वैशाखसम्ममा नेपालको कुल निर्यात व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा एक खर्ब आठ अर्ब रुपियाँ बराबरको थियो । चालू आर्थिक वर्षको यो दस महिनाको अवधिमा नेपालले सबैभन्दा धेरै ४५ अर्ब ३५ करोड रुपियाँको भटमास तेल निर्यात गरेको छ । 

त्यसपछि ३८ अर्ब रुपियाँको पाम तेल, सात अर्ब ६८ करोडको गलैँचा, चार अर्ब ८६ करोड रुपियाँको जुट तथा ऊनी कपडा निर्यात गरेको छ । समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै भारतमा एक खर्ब ३७ अर्ब १७ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । 

व्यापार घाटा १४ खर्ब ३१ अर्ब

निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालको व्यापार घाटा वैशाखसम्ममा १४ खर्ब ३१ अर्ब रुपियाँ नाघेको छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको १० महिनासम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा २५ प्रतिशतले बढेको छ । अघिल्लो वैशाखमा नेपालको व्यापार ११ खर्ब ४५ अर्ब रुपियाँ थियो । एक वर्षकै अवधिमा व्यापार घाटा करिब तीन खर्ब रुपियाँले बढेको हो ।