काठमाडौँ, माघ १ गते । यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ । पर्याप्त मात्रामा मलको मौज्दात रहेको र थप मल आयात हुने क्रममा रहेकाले मल अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
हिउँदे बाली (गहुँ, आलु र तोरी) का लागि मलको प्रयोग गरिन्छ । मन्त्रालयका अनुसार हिउँदे बालीका लागि एक लाखदेखि डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पुस अन्तिम सातासम्म दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेकोमा पुस अन्तिम सातासम्म दुई लाख १० लाख मेट्रिक टन मल आयात भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेसनसँग दुई लाख ४१ हजार मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमा ४४ हजार पाँच सय मेट्रिक टन युरिया, १६ हजार मेट्रिक टन डिएपी र पाँच हजार मेट्रिक टन पोटास रहेको छ ।
थप ६० हजार मेट्रिक टन युरिया र डिएपी आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले पर्याप्त मात्रामा मौज्दात रहेकाले हिउँदे बालीका लागि मलको अभाव नहुने जानकारी दिनुभयो ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी रहेकाले मल वितरणमा हुने समस्या समाधान हुने उहाँको दाबी छ । मलको खरिद प्रक्रिया जटिलताका कारण समयमा मल आयात गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो ।
आगामी आव २०८२/८३ को पहिलो छ महिनालाई आवश्यक पर्ने तीन लाख मेट्रिक टन मलको आपूर्ति व्यवस्थापनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज हुने गरी खरिद प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
सरकारले चालु आवमा मल खरिद गर्न २७ अर्ब रुपियाँ विनियोजन गरेको छ । कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले मल आयात गर्ने गरेका छन् । सहकारी संस्थामार्फत किसानलाई मलको वितरण हुने गर्छ ।
नेपालमा मुख्य गरी बर्खे र हिउँदे बालीमा मलको प्रयोग गरिन्छ । धान बाली दुई सिजनमा लगाउने गरिन्छ । चालु आवमा चैते र बर्खे धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । यस वर्ष १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो ।
मन्त्रालयका तथ्याङ्क अनुसार मुलुकभर नौ लाख हेक्टर क्षेत्रफल मकै खेती गरिने र जसबाट २९ लाख ८० हजार मेट्रिक टन मकै उत्पादन हुने गर्छ ।
यस्तै सात लाख हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिने र त्यसबाट २१ लाख मेट्रिक टन हाराहारीमा गहुँ उत्पादन हुने तथ्याङ्क छ । मुलुकभर वार्षिक सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यक पर्ने बताइएको छ ।
सरकारले बर्सेनि मल खरिदका लागि अनुदानको व्यवस्था गरे पनि माग अनुसार समयमा मल आयात नहुँदा धान रोप्ने बेला प्रत्येक वर्ष किसानले अभाव खेप्नु परेको छ ।