• २ कात्तिक २०८२, आइतबार

स्रोत नखुलेका र नक्कली नोटसहित चार जना पक्राउ

blog

स्रोत नखुलेको साढे ८ लाख ।

खेमराज सापकोटा
रानी(मोरङ), कात्तिक २ गते ।
  विराटनगरमा प्रहरीले छुट्टाछुट्टै घटनामा स्रोत नखुलेको ठुलो परिमाणको रकम र नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

विराटनगर–१२ सैनिक टोलबाट स्रोत नखुलेको करिब आठ लाख ४७ हजार रुपियाँ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले बीआर ३८ भी ३३२८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेका मोटरसाइकल चालक मोरङ जहदा–७ का ४६ वर्षीय नवीन साहले रकम लुकाएर ल्याइरहेका थिए । साहले लगाएको हेल्मेटभित्र एक हजार दरका ८ सय, पाँच सय दरका ५१, एक सय दरका एक सय ४६ र ५० दरका एक सय २ थान नेपाली नोट फेला परेको कटुवालले बताउनुभयो ।

स्रोत नखुलेको सो रकमसहित साहलाई नियन्त्रणमा लिइएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । प्रारम्भिक अनुमानअनुसार उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने प्रहरीले जनाएको छ ।

यसैबिच, विराटनगर बसपार्कबाट भारतीय नक्कली नोटसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्ने दुवै जना भारत बिहारको अररियाका २३ वर्षीय मोहमद अरवाज र मोहमद रजा हुन् ।

दुवै जना भारतको जोगवनीबाट सिटी सफारीमार्फत विराटनगर आएका थिए । सफारी चालकलाई अरवाजले दिएको भारतीय दुई सय रुपियाँको नोट नक्कलीजस्तो देखिएपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शरीर खानतलासी गर्दा अरवाजको साथबाट दुई सय दरका १८ थान र पाँच सय दरको एक थान नक्कली नोट बरामद भएको मोरङ प्रहरीले बताएका छन् । प्रहरीका अनुसार बरामद नोटहरूमा विशेष प्रकारको प्रिन्ट र रङको प्रयोग गरिएको छ, जसलाई सामान्य व्यक्तिले वास्तविक नोटभन्दा छुट्याउन कठिन हुन्छ । दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने मोरङ प्रहरी कार्यालयले जनाएको छ ।