बनेपा समाचारदाता
बनेपा, कात्तिक २ गते । सङ्घीय सरकारले पर्याप्त बजेट विनियोजन नगरेका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामार्फत सञ्चालन हुँदै आएको ‘आमा सुरक्षा’ कार्यक्रम रोकिएको छ । सङ्घीय सरकारको सहयोगमा बनेपा नगरपालिकाले विगत १४ वर्षदेखि बनेपामा रहेको शिर मेमोरियल अस्पतालसँग सहकार्य गर्दै ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
चालु आव २०८२/८३ का लागि सङ्घीय सरकारबाट उपलब्ध गराइएको बजेटबाट उक्त कार्यक्रम सञ्चालन गर्न पर्याप्त रकम नभएकाले हालका लागि उक्त कार्यक्रम अघि बढाउन नसकिने नगरपालिकाले जनाएको छ । शिर मेमोरियल अस्पतालले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले बजेट अपर्याप्त रहेको कारण देखाउँदै तत्कालका लागि नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गर्न नसकिने भन्दै पत्राचार गरेको जनाएको हो । कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले नगरपालिकाले बजेटको अपर्याप्तता देखाउँदै विगत १४ वर्षदेखि अस्पतालसँग सहकार्य गर्दै सञ्चालन गरेको ‘आमा सुरक्षा’ कार्यक्रम स्थगन गर्न पत्राचार गरेकाले उक्त कार्यक्रम कात्तिक १ गतेबाट सञ्चालन गर्न नसकिने बताउनुभएको हो ।
उहाँले नगरपालिकाले सरकारमार्फत उपलब्ध गराउने रकम उपलब्ध गराउन नसकिने भन्दै कार्यक्रम स्थगन गरे पनि अस्पतालले प्रदान गर्दै आएको प्रयोगशाला जाँच, युएसजी, एक्सरेबाहेकका अन्य सेवामा जनरल वार्डमा सेवा प्राप्त गर्नेका लागि दिँदै आएको ५० प्रतिशत छुट र औषधीमा पाँच प्रतिशत छुट भने अस्पतालले उपलब्ध गराइराख्ने बताउनुभयो ।
अस्पतालले नगरपालिकासँगको सहकार्यमा विसं २०६८ फागुन ११ गतेदेखि मातृ सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको थियो । अस्पतालमा दैनिक आठ/१० जना सुत्केरी हुने गरेका र अस्पतालमा उक्त कार्यक्रम लागु भएदेखि हालसम्म करिब २८ हजार महिलाले सेवा पाएको अस्पतालले जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत नेपाल सरकारबाट ३२ प्रतिशत र सम्बन्धित बिरामीले २० प्रतिशत रकम बेहोर्दै आएका थिए भने अस्पतालले ४८ प्रतिशत योगदान दिएको अस्पतालकी भिपी मेडिकल अफेयर्स डा. एन्जेला बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाले ‘आमा सुरक्षा’ कार्यक्रम अन्तर्गत आव २०८१/८२ मा सेवा उपलब्ध गराएका एक हजार ५४८ जनाको ९६ लाख ८५ हजार पाँच सय रुपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ । यस्तै चालु आवको साउन र भदौमा सेवा उपलब्ध गराएबापत अस्पतालले नगरपालिकाबाट १३ लाख ९० हजार रुपियाँ भुक्तानी लिनुपर्ने देखिएको छ । अस्पतालले काभ्रेपलाञ्चोक जिल्लाका साथै भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुलीलगायतका जिल्लाका बिरामीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।