• २ कात्तिक २०८२, आइतबार

बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु

blog

बाबुराम कार्की 
वराहक्षेत्र, कात्तिक २ गते ।
धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट बृहत्तर वराहक्षेत्र पदयात्रा सुरु भएको छ । जगतगुरु बालसन्त मोहनसरणले स्थानीय धार्मिक र पौराणिक सम्पादाहरुको प्रचारप्रसार र जगेर्ना गर्ने उद्देश्यले सुरु गरिएको पदयात्रा यस वर्ष पनि कात्तिक १ गतेबाट सुरु भएको हो ।

बृहत्तर वराहक्षेत्रभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको मठ मन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार, उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिनुभयो ।

कुम्भस्थल चतरा धामबाट सुरु भएको पन्ध्रदिने धार्मिक पदयात्राले सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने बताइएको छ । चतराधामबाट सुरु भएको पदयात्राले चतराधाम क्षेत्रबाट सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने जगदगुरु बालसन्त मोहनसरणले बताउनुभयो । उहाँका अनुसार कोसी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । पदयात्रीले मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने बताइएको छ ।

पदयात्राको रुटमा पर्ने त्रिवेणी धाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना हुँदै कार्की छाप भेडेटार हुँदै पदयात्रा धरान आइपुग्ने जनाइएको छ ।

पदयात्रीले धरानको शिवजट्टाधाम, वसुधाराधाम, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर हुदै तरहराबाट इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिरको दर्शन गरिने रुट रहेको जगदगुरु बालसन्तले जनाकारी दिनुभएको छ ।

त्यसैगरी, सुनसरीमै रहेको रामपुरा, मानपुर सिङ्घियाको रुट हुँदै रामधुनी मन्दिरको परिक्रमा पश्चात पदयात्रा प्रकाशपुर, राजाबास र सालबनी हुँदै शक्ररुद्र तीर्थ, वराह भगवानको गर्भ गृहको दर्शन गरिने जगदगुरु बालसन्त मोहनसरणले जानकारी दिनुभएको छ । जगतगुरु बालसन्त मोहनसरणले बृहत्तर वराहक्षेत्र पदयात्रा २०८० सालबाट सुरु गर्नुभएको थियो ।