• १२ असार २०८१, बुधबार

मधेश प्रदेश सरकारले असार १ गते बजेट ल्याउने

blog

धीरेन्द्रप्रसाद साह
जनकपुर, जेठ १० गते ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७९/०८० को आर्थिक विनियोजन विधेयक(बजेट) आगामी असार १ गते ल्याउने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

‘‘बजेटमा कृषि, वन, पर्यटन, उद्योग लगायत अन्य विषयलाई प्राथमिकता राखिएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘अगामी वर्षको बजेट उत्पादनमुखी केन्द्रीत हुन्छ । वितरणमुखी हुँदैन ।’’

बजेट प्रस्तुत अघि विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु यही जेठ १९ गते प्रिबजेट प्रदेश सभामा छलफलको लागि प्रस्तुत गरिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बजेट सार्वजनिक अगाडि आकारप्रकार बारे बताउन नमिल्ने उहाँले विभिन्न कारणले सामान्यीकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा चालु वर्षकोभन्दा कम रकम विनियोजन हुन सकिने अनुमान रहेको बताउनुभयो ।

मधेस प्रदेश सरकारले यही जेठ १९ गते दिनको १ बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गरिसकेको प्रदेश सरकारको प्रवक्ता एवम् अर्थमन्त्री साहले जानकारी दिनुभयो । सो सभामा जेठ २३ गते प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले (तत्कालीन प्रदेश २ सरकार) आर्थिक वर्ष २०७८/०७९ का लागि लागि कुल ३३ अर्ब ६६ करोड ४२ लाख ८४ हजार रूपियाँको बजेट पारित थियो भने आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजारको बजेट थियो ।