• १२ असार २०८१, बुधबार

कुखुरा फर्ममा आगलागी हुँदा पन्ध्र सय कुखुरा नष्ट

blog

जनार्जन खत्री
सर्लाही, जेठ १० गते ।
सर्लाहीको हरिवन नगरपालिका–८ कैलाशपुरी क्षेत्रमा एक कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

जिल्लाको कौडेना गाउँपालिका–६, घर भई कैलाशपुरी क्षेत्रमा रामाशङ्कर यादवले सञ्चालन गर्दै आएको वनबाटिका कृषि फर्ममा सोमबार राति आगलागी भएको हो । आगलागी हुँदा करिब एक हजार पाँच सय तयारी कुखुरा जलेर मरेका छन् ।

सोमबार राति १ बजेतिर सुरु भएको आगलागीबाट एउटा खोर पूरै जलेर नष्ट भएको छ । आगलागीमा परेर झण्डै आठ लाख रुपियाँ मूल्य बराबरको कुखुरा मरेका सञ्चालक यादवले जानकारी दिनुभयो ।

कुखुरा र खोरको संरचना नष्ट हुँदा झण्डै १५ लाख रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । यादवको फर्ममा हाल आठ हजार ब्रोइलर कुखुरा छन् ।

छवटा खोरमध्ये आगलागीबाट एउटा खोर पूरै र अर्को खोरका तीन सयजति कुखुरा जलेर मरेका यादवले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।

हरिवन नगरपालिकाको बारुणयत्र, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । इलाका प्रहरी कार्यालय हरिवनले आगलागीका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।