• २५ पुस २०८१, बिहिबार

तिब्बतमा शक्तिशाली भूकम्प: दक्षिणका छिमेकी मुलुकसम्म प्रभाव

blog

काठमाडौँ, पुस २४ गते  ।  चीनको सिजाङ स्वायत्त क्षेत्र अर्थात् तिब्बतको सिगात्से सहरको डिङ्गयी काउन्टी केन्द्रविन्दु भएर मङ्गलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पले तिब्बतमा मात्र होइन, नेपाल, भारत, बङ्गलादेश र भुटानसम्मको जमिन हल्लाएको छ । बढी क्षति तिब्बतमा भए पनि यस भूकम्पलाई दुईभन्दा बढी मुलुक हल्लाउने गरी आएकाले अन्तरदेशीय भूकम्प मानिएको छ । तिब्बतसँगै नेपालको पूर्वी र मध्य भेगमा यस भूकम्पको अत्यधिक धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो । 

मापन फरक फरक

केन्द्रसँगको दुरी, निकटता र भूकम्पको गहिराइका आधारमा भूकम्पको मापकीय नम्बर पनि फरक फरक आउने गर्छ । सबैभन्दा नजिक रहेको नेपालको पूर्वी भेगस्थित भूकम्प मापन स्टेसनहरूले ७ म्याग्निच्युड भनेर प्रस्ट देखाएको छ । चीनको आफ्नै मापन केन्द्रले भने यसलाई ६.८ म्याग्निच्युडको भूकम्प देखाएको छ । त्यस्तै अमेरिकी मापन केन्द्रहरूले ७.१ म्याग्निच्युडको भूकम्प मानेका छन् । अधिकारीले भन्नुभयो, “केन्द्र जति नजिक हुन्छ, त्यसको धक्काको तरङ्ग कम हुन्छ र स्थानीय मापन कम देखिन सक्छ । त्यसको तरङ्ग पछाडि सर्दै जाँदा बढी जमिन हल्लिने गर्छ ।” अधिकारीका अनुसार नेपालमा २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको मापन पनि त्यसै गरी फरक आएको थियो । त्यस भूकम्पलाई चीनको स्टेसनले ८.१ म्याग्निच्युड देखाएको थियो । अमेरिकाले ७.८ र नेपालको स्थानीय मापनमा ७.६ म्याग्निच्युड देखिएको थियो । पछि सबैतिरको राम्ररी विश्लेषण गरेर त्यो भूकम्पलाई ७.९ म्याग्निच्युडको मान्यता दिइएको थियो । 

नेपालको समग्र भेग र तिब्बत क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त भूभाग हो । मङ्गलबारको भूकम्प आउनुअघि पूर्वचेतावनीयुक्त ३.१ म्याग्निच्युडको पूर्वकम्प आएको थियो । कतिपय ठूला भूकम्प आउँदा त्यस्ता पूर्वकम्प आउँदैनन् तर कतिपयमा आउँछन् । त्यसको एक घण्टापछि ७ म्याग्निच्युडको ठुलो धक्का आएको जानकारी अधिकारीले दिनुभयो । नेपालमा १९९० सालको महाभूकम्प र २०७२ लगायत केही ठूला भूकम्पमा त्यस्ता पूर्वकम्प आएनन् । अझ अगाडि १८९० सालको भूकम्पमा पूर्वकम्प आएको थियो । ठुलो भूकम्प आउनु २५ मिनेटअघि सानो भूकम्प आएको थियो ।

मङ्गलबारको भूकम्पको प्रकृति हेर्दा प्राथमिक र द्वितीय चरण गरेर गएको देखिएको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, “सुरुमा ह्वात्त हल्लायो र थोरै रोकिएजस्तो भयो, लगत्तै फेरि बेसरी हल्लायो ।” यसरी आउँदा पछाडिको धक्का निकै परसम्म पुग्ने गर्छ । जुन नेपालसहित अन्य मुलुकसम्म धक्का पुगेको थियो ।

चीनमा धेरै, नेपालमा सामान्य क्षति

तिब्बत क्षेत्रको भूकम्पले त्यहाँ ठुलो जनधनको क्षति भएको छ । नेपालमा कुनै प्रकारको मानवीय क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार तिब्बत सिमाना छोएका उत्तरपूर्वी हिमाली तथा पहाडका केही भवन तथा भौतिक संरचनामा क्षति पुगेको छ । काठमाडौँमा एक जना पुरुष भूकम्पको भयले घरमाथिबाट हामफाल्दा घाइते भएका छन् । बारा जिल्लामा झन्डै ११ जना विद्यार्थी भूकम्प आउँदै गर्दा बेहोस हुन पुगेका थिए । 

पराकम्प आउने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन केन्द्र तथा स्थानीय प्रशासन एवं सुरक्षा निकायलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । विस्तृत क्षतिको विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ । 

चिनियाँ सञ्चार माध्यम सिटिटिएनका अनुसार भूकम्पमा परेर तिब्बती क्षेत्रमा हालसम्म ९५ जनाको ज्यान गएको छ । १३० भन्दा बढी घाइते भएका छन् । घर, बजार तथा सार्वजनिक स्थलहरू भूकम्पले ध्वस्त बनाएको छ । चीन सरकार उच्च स्तरमा उद्धार तथा राहतमा खटिएको छ । चीनका राष्ट्रपति सी चिनफिङले सक्दो छिटो राहत तथा उद्धारका कार्य गर्न निर्देशन दिनुभएको छ । 

उच्च हिमाली भेगको चिसो क्षेत्र भएकाले पनि बलियो राहत तथा उद्धारको व्यवस्थापनमा ध्यान दिन उहाँले अपिल गर्नुभएको छ । झन्डै दुई हजार बढी उद्धारकर्मी उद्धारमा खटिएका छन् । लगातार परकम्प गइरहेकाले तिब्बतमा पर्ने चीनको उच्च हिमाल चोमुलोङ्मा आरोहणमा रोक लगाइएको छ ।

नेपालमुनिको शक्ति उस्तै छ

तिब्बत र नेपालको भूगोल जोडिएको भए पनि मङ्गलबारको भूकम्पले नेपालमा सञ्चित भूकम्पीय शक्तिमा कुनै तलमाथि नभएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार हिमाली भेग, काठमाडौँमुनि र नेपालको पश्चिमी भूगोलमा सञ्चित भूकम्पीय शक्ति उस्तै रहेकाले यहीँ अर्को ठुलो भूकम्प जाने खतरा कायमै छ । गोरखा भूकम्पभन्दा अझ कम गहिराइको भूकम्प रहेकाले पनि तल्लो तहसम्म पुगेको देखिँदैन । २०७२ को भूकम्पको गहिराइ १३ किलोमिटर थियो । तिब्बत भूकम्पको गहिराइ मात्र १० किलोमिटर छ । 

केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यस भूकम्पले नेपाली भूगोलमुनिको प्लेटका उतारचढावलाई कुनै फरक पारेको छैन । तिब्बतीय र भारतीय टेक्टोनिक प्लेट आपसमा टक्कर खाँदा भूकम्प जाने गर्छ । दुई प्लेटबिचको घर्षणसँगै दुई/दुई सेन्टिमिटरका दरले नेपाल र चीनतर्फ प्लेट सर्ने गरेको विगतका भूकम्पीय अध्ययनले देखाएको छ । गोरखा भूकम्प जाँदा नेपालबाट भारतीय प्लेट दुई सेन्टिमिटरको दरले दक्षिणतर्फ भासिँदै माथि प्लेट सरेको थियो । 

तिब्बत भूकम्पले त्यहाँको प्लेट दुई सेन्टिमिटर त्यताको पूर्वतिर सर्दै तल भासिएको छ । यसले गर्दा पनि उताको भूकम्पले यताको शक्तिमा परिवर्तन नगरी त्यहीँको शक्ति उत्सर्जन गरेको जानकारी उहाँले दिनुभयो । तिब्बत भूकम्पपछि हालसम्म झन्डै डेढ सय वटाभन्दा बढी परकम्प रेकर्ड भएको जानकारी कोइरालाले दिनुभयो ।