• ११ कात्तिक २०८२, मङ्गलबार

सडकको हिउँ पन्छाएर पदयात्रीलाई सहजीकरण गर्दै सशस्त्र प्रहरी

blog

काठमाडौँ, कात्तिक ११ गते । सशस्त्र प्रहरी बल नेपालले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा गएरातिदेखिको हिउँको कारण अवरुद्ध सडकका हिउँ पन्छाएर पदयात्रामा गएका यात्रुलाई सहजीकरण गरेको छ । 

मुस्ताङको लोमाङथाङ गाउँपालिका-५ नेचुङस्थित उपल्लो मुस्ताङमा हिउँ पन्छाउनुका साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङको टोलीले यात्रुको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाएको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाइएको उहाँले जानकारी दिनुभयो । थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ । 

त्यसै गरी मनाङको डिस्याङ गाउँपालिका-४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ । 

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । सो टोली पदयात्रीको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका-४ हुमखोला भन्दा माथिसम्म पुगेको जनाइएको छ । रासस