• २१ पुस २०८१, आइतबार

अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’

blog

नेपाली राजदूतको ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा भारतका तत्कालीन राष्ट्रपति रामास्वामी बेंकटरमणसँग विन्देश्वरी शाह । तस्बिर सौजन्य : डा. मदनकुमार भट्टराई

काठमाडौँ, पुस १९ गते । नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक सेवामा प्रवेश गरेर नेपालको पहिलो महिला राजदूत बन्नुभएको थियो विन्देश्वरी शाह । उहाँको ९२ वर्षको उमेरमा बिहीबार निधन भयो । 

पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराईका अनुसार नेपाली महिलाको कूटनीतिक क्षेत्रमा उपस्थितिका हिसाबले उहाँ पथप्रदर्शक हुनुहुन्थ्यो । भट्टराईले भन्नुभयो, “नेपाली कूटनीतिक वृत्तमा एक जुझारु र पथप्रदर्शक महिलाका रूपमा उहाँको परिचय स्थापित छ ।”

त्यति मात्र होइन, शिक्षा क्षेत्रमा महिलाको उपस्थितिका हिसाबले पनि ऊ बेलाका अब्बल महिलामा उहाँ गनिनुहुन्थ्यो । पिता पद्मसुन्दर मल्ल निर्वासनमा परेकाले खर्साङमा उहाँको जन्म भयो । विद्यालय शिक्षा त्यहीँ लिनुभएकी शाहले विद्यालय प्रतिस्पर्धामा प्रथम भएर सानै उमेरमा हेराल्ड ट्रिब्युन अमेरिकाका तर्फबाट अमेरिका भ्रमण गर्ने अवसर पाउनुभएको थियो । 

अमेरिकाकै कोलम्बिया विश्वविद्यालयको बार्नर कलेजबाट पहिलो नेपाली महिला विद्यार्थीका रूपमा बिए (स्नातक) उत्तीर्ण गर्नुभयो । त्यसपछि जोन्स हकिन्स विश्वविद्यालयबाट उहाँले पहिलो नेपाली महिलाका रूपमा अमेरिकाबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभयो । त्यहाँबाट उहाँ नेपाल फर्कनुभयो । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय खुलेपछि त्यहाँ पहिलो महिला लाइब्रेरियनका रूपमा उहाँ जागिरे बन्नुभयो । 

त्यो बेला नेपालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पुस्तकालयको पहिलो सदस्यका रूपमा राजा महेन्द्रवीरविक्रम शाहलाई सदस्यता दिनुभयो । त्यस्तै प्रधानमन्त्री बिपी कोइरालालाई पुस्तकालयको दोस्रो सदस्यता दिलाउनु भएको भट्टराईले स्मरण गर्नुभयो । 

तत्कालीन बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको अध्यक्षतामा गठित युनेस्को समितिमा सदस्य बन्ने अवसर उहाँले पाउनुभयो । त्यसपछि उहाँ परराष्ट्र सेवामा प्रवेश गर्नुभयो । उहाँसहित शान्ति राणाले पनि आवेदन दिनुभएको थियो । लोक सेवाले लिएको परीक्षामा राणाको नाम निस्किएन तर शाहको नाम निस्केपछि पहिलो महिला अधिकृतका रूपमा उहाँले परराष्ट्र मन्त्रालयमा स्थायी सेवा सुरु गर्नुभयो । सेवाकै क्रममा उहाँको अङ्ग्रेजी प्रखर भएकाले अमेरिकामा सरुवा भयो । त्यो बेला नेपालमा दुई पटक प्रधानमन्त्री भएर पनि अमेरिकाका लागि राजदूत बनेर मातृकाप्रसाद कोइराला त्यहाँ पुग्नुभएको थियो । दुई वर्षपछि कोइरालाले राजीनामा दिनुभएपछि शाह कार्यवाहक राजदूत नियुक्त हुनुभयो । 

भट्टराई स्मरण गर्नुहुन्छ, “अमेरिकी सरकारले आयोजना गरेको एउटा भोजमा पुरुषका बिचमा एक जना मात्र महिला सारी लगाएर पुग्नुभएकी शाह सबैको आँखामा पर्नुभएको थियो ।” यता दक्षिण एसियामा भारत, पाकिस्तान र बङ्गलादेश स्वतन्त्र हुने आलोपालो चलिरहेको थियो । बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि तत्कालीन राजा वीरेन्द्रले पहिलो महिला नियोग प्रमुखका रूपमा उहाँलाई पठाउनुभएको थियो । सन् १९७२ देखि १९७६ सम्म त्यहाँ भूमिका निर्वाह गर्नुभयो । 

बङ्गलादेशका पूर्वप्रधानमन्त्री बेगम खालिदा जिया र सेख हसिना वाजेद दुवै जना शाहबाट निकै प्रेरित हुनुहुन्थ्यो । भट्टराईले स्मरण गर्नुभयो, “दुवै जनाले मसँग शाह कहाँ हुनुहुन्छ भनेर बारम्बार सोध्नुभएको थियो । लामो समय परराष्ट्र मन्त्रालयमा नेपालको पहिलो महिला सहसचिवका रूपमा कार्यरत रहनुभयो । सोही क्रममा सन् १९८८ मा भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभयो । उहाँ त्यहाँ सन् १९९१ सम्म राजदूत पदमा रहनुभयो ।” 

त्यो बेला भारतले नेपालमा गरेको नाकाबन्दीका कारण कठिन समय थियो । नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको भारत भ्रमण गराउन शाहले महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यही बेला भारतसँग भएका सन्धि सम्झौता थप सुधार गरेर लैजाने र सम्बन्ध सुमधुर बनाउने दिशामा उहाँको भूमिका रहेको स्मरण भट्टराईले गर्नुभयो । भट्टराई शाहसँगै दिल्लीमा काम गर्नुभएको थियो । पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएपछि भने उहाँलाई फिर्ता बोलाइएको थियो ।  

खरो स्वभावका कारण उहाँलाई त्यो बेलाको पितृसत्तात्मक सोच भएका व्यक्तिहरूले त्यति मन नपराउने र डराउने गर्थे तर उहाँले महिलालाई हामी पुरुषभन्दा केही कम छैनौँ, अघि बढ्नु पर्छ, महिलाको क्षमता पुरुषकोभन्दा बढी हुन्छ भनेर हौस्याइरहनुहुन्थ्यो ।

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ पनि शाह मन्त्रालयमा अब्बल रहनुभएको स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, के महिला के पुरुष सबैलाई नेताको जस्तै गरेर ‘कमान्डिङ’ तहमा काम लिन र गराउन सक्ने खुबी उहाँको थियो । महिला भए पनि उहाँसँग सिधै बोल्ने र केही भन्ने आँट पुरुष कर्मचारीको हुँदैनथ्यो । उहाँका श्रीमान् नारायणकेशरी शाह डाक्टर हुनुहुन्थ्यो । दुई छोरामध्ये कान्छाको निधन भइसकेको छ । हाल जेठा छोरा तथा बैङ्कर अनिलकेशरी शाहका साथमा उहाँ रहनुभएको थियो । त्यसपछि उहाँ 

मन्त्रालयमा अतिरिक्त सचिवमा पहिलो महिला पनि दरिनुभयो । सरकारले ५८ बर्र्से सेवा कार्यविधि ल्याएपछि सन् १९९३ मा परराष्ट्रसचिव हुन नपाउँदै उहाँको अवकाश भएको थियो ।