• १२ असार २०८१, बुधबार

नवनिर्वाचित प्रमुख र अध्यक्षलाई शपथ

blog

काँक्रेविहार समाचारदाता

सुर्खेत, जेठ ९ गते ।  सुर्खेत जिल्लाका नौवटै स्थानीय तहका प्रमुख र अध्यक्षले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा उहाँहरूको शपथग्रहण कार्यक्रम भएको हो ।

स्थानीय तह सदस्य निर्वाचन ऐन २०७९ अन्तर्गत निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् । 

सुर्खेतका पालिका प्रमुख र अध्यक्षमा नेपाली कांग्रेसले गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, लेकबेँसी नगरपालिका, वराहताल गाउँपालिकामा विजय प्राप्त गरेको छ भने नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिका, भेरीगङ्गा नगरपालिका, सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकामा विजय प्राप्त गरेको छ । साथै नेकपा माओवादी केन्द्रले चौकुने गाउँपालिकामा विजय प्राप्त गरेको छ । 

पद तथा गोपनीयताको शपथ खुवाउँदै मुख्य निर्वाचन अधिकृत आचार्यले संस्कार र संस्कृतिको विकास गर्नुपर्ने सुझाव दिनुभयो । २०५२ सालदेखि आफू सुर्खेत जिल्लाको विकासलाई अध्ययन गर्ने मौका पाएको अनुभव सुनाउँदै उहाँले यहाँको संस्कार र संस्कृतिको विकास आवश्यक रहेको बताउनुभएको हो । “पूर्वाधार विकासअन्तर्गत सडक, भवनलगायतका संरचना निर्माण गर्नु मात्रै विकास होइन, संस्कार र संस्कृतिको विकास गर्न जरुरी छ,” उहाँले भन्नुभयो, “नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा मानव चेतनाको परिवर्तनसँगै कुसंस्कार तथा कुरीतिविरुद्वको विकास गर्नुपर्ने सुझाव दिन्छु ।” 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले सुर्खेतको विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको योगदान अपरिहार्य हुने भन्दै समृद्ध सुर्खेत बन्ने अपेक्षा व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नवनिर्वाचित जनप्रतिनिधिद्वारा राजनीतिक दलबाट माथि उठेर साझा नेतृत्वलाई ग्रहण गर्दै कार्य कुशलता सम्पन्न हुनेमा अपेक्षा राख्नुभयो । पद तथा गोपनीयताको शपथ लिँदै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया भण्डारीले कानुनले दिएको अधिकार प्रयोग गरी निष्ठा र इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले वीरेन्द्रनगर नगरपालिकालाई नमुना नगरका रूपमा विकास गर्ने ऐक्यबद्धता जाहेर गर्नुभयो । 

पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले राजनीतिक आस्था र विचारलाई थाती राखेर समग्र नगरपालिकाको विकासमा एकताबद्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो भने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले पक्ष वा विपक्ष नभनी जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो ।