• ३ असार २०८१, सोमबार

जिसस गठनमा गठबन्धनको मत अपुग

blog

कैलाली समाचारदाता

धनगढी, जेठ ९ गते । कैलाली जिल्लाका १३ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा दलहरूले प्राप्त जनप्रतिनिधिको सङ्ख्याअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनमा गठबन्धनलाई बहुमत अपुग भएको छ । जिसस गठनका लागि प्रमुख/उपप्रमुखको १४ मत आवश्यक पर्नेमा गठबन्धनले १३ मत मात्र प्राप्त गरेको छ । गठबन्धनको १३ मतमध्येमा पनि मोहन्यालको अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्यायलाई अख्तियारको मुद्दा लागेकाले शपथग्रहण हुन सकेको छैन । 

जिसस गठनका लागि गठबन्धनलाई नागरिक उन्मुक्ति पार्टी वा नेकपा (एमाले)को सहयोग आवश्यक हुन्छ । उन्मुक्ति पार्टीसँग चार प्रमुख र तीन उपप्रमुखसहित सात मत रहेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा धनगढी उपमहानगरपालिका प्रमुखमा विजयी गोपाल हमालसमेत हुनुहुन्छ । नेपाली कांग्रेसका सचिव नृपबहादुर सुनारले गाउँ तथा नगरको कार्यपालिका बनाउने विषयमा गृहकार्य भइरहेको र त्यसपछि जिसस बनाउने विषयमा छलफल हुने बताउनुभयो । 

कैलालीमा उन्मुक्ति पार्टी ठूलो 

आइतबार कैलालीका १३ वटै पालिकाको परिणाम सार्वजनिक हुँदा नागरिक उन्मुक्ति पार्टी पहिलो दल बनेको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा केही महिनाअघि गठन भएको हो । १३ वटा पालिका रहेको कैलालीमा पालिका प्रमुख जितेको हिसाबमा सो पार्टी ठूलो दल बनेको हो । 

नागरिक उन्मुक्तिले चार पालिका जितेर आफूलाई कैलालीको ठूलो दल बनाएको हो । सो पार्टीले टीकापुर, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका जितेको छ । नागरिक उन्मुक्ति पार्टीपछि नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ । 

कांग्रेसले गोदावरी नगरपािलका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका जितेको छ । २०७४ को स्थानीय चुनावमा सात पालिका जितेको नेकपा (एमाले) दुई पालिका प्रमुखमा मात्रै जितेको छ । अघिल्लो चुनावमा दुई पालिका मात्रै जितेको नेकपा (माओवादी केन्द्र)ले दुई पालिका फेरि जिते पनि आफ्नो आधार क्षेत्र भनेको कैलारी गाउँपालिका र भजनी नगरपालिका गुमाएको छ ।