• २ असार २०८१, आइतबार

‘धनगढी मोडल’मा विकास

blog

अविनाश चौधरी

धनगढी, जेठ ९ गते  । ‘सुन्दर सुदूरपश्चिम’ अभियानका एक प्रमुख अभियन्ता गोपाल हमाल यतिबेला अभियान सरोकार कार्यान्वयन गर्ने कुर्सीमा पुग्नुभएको छ । सुदूरपश्चिमलाई चिनाउन र समग्र विकासका लागि थालिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदा हमालले थालेको यो अभियान अझै पनि चर्चामा छ । 

धनगढी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि हमालले भन्नुभयो, “हामी कसैको नक्कलका आधारमा होइन, धनगढी मोडलमा धनगढीको विकास गर्छौं ।” स्वतन्त्र उम्मेदवारका रूपमा धनगढीवासीको लोकप्रिय मतका साथ प्रमुखमा हमाल विजयी हुनुभयो । उहाँले २६ हजार ८६५ अर्थात् कुल खसेकोमध्ये ४२.१६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । उहाँले नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्नुभएको थियो । सडकबाट धनगढीको विकास र समृद्धिको माग उठाउँदै आएका हमाल यतिबेला सरोकार सम्बोधन गर्ने ठाउँमा हुनुहुन्छ । उहाँले ‘धनगढीको विकास धनगढी मोडेलमा’ गर्ने महìवपूर्ण उद्देश्य राख्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले जति पनि विकास भएको छ, त्यो प्राथमिकता र योजनाको आधारमा नभई पहुँचको आधारमा भएका छन् । पहुँचको विकासलाई तोड्दै मौलिक अवधारणामा विकास अगाडि बढाउँछु ।”

भ्रष्ट राजनीतिलाई कल्याणकारिणी राजनीतिमा रूपान्तरण गर्ने, राजनीति पेसा नभई सेवा हो भन्ने भावना स्थापित गर्ने महान लक्ष्य उहाँको छ । उहाँले भन्नुभयो, “हामी आफ्नो लागि आफैँ गर्न सक्छौँ, प्राथमिकीकरणका आधारमा धनगढीको विकास गर्न सक्छौँ, त्यो नै धनगढी मोडल हुनेछ ।” शिक्षा–स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने उहाँको भनाइ छ । तराई क्षेत्रको हावापानी र विशेषताअनुसारको उत्पादनमा जोड दिने योजना उहाँको छ । उहाँले भन्नुभयो, “मुङ खेतीलाई बढावा दिने, एक वडा एक उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनेछु ।”

व्यावसायिक घरानाका हमालको जन्म २०२० जेठ १६ गते धनगढीमै भएको थियो । कृष्णप्रसाद हमाल र झरेन्द्रदेवी हमालको व्यावसायिक परिवारमा जन्मनुभएका गोपाल हमाल धनगढीमै व्यवसायमा संलग्न हुनुहुन्छ । 

जनप्रतिनिधिका हैसियतले प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने प्रतिबद्धता उहाँको छ । सचिवालय राम्रो नभएमा कुनै पनि योजना राम्रोसँग लागू हुन नसक्ने ठम्याइसाथ पाँच वर्षसम्म आफ्नै खर्चमा जनताको सेवक भएर काम गर्ने र सचिवालय सुद्धीकरण गर्ने योजना उहाँको छ । उहाँले सचिवालयको कार्यबारे चर्चा गर्नुभयो, “योजना बनाउने, अनुगमन गर्ने नियन्त्रण गर्नेदेखि लिएर हरेक काम सचिवालयको हुन्छ । त्यसैले सचिवालयलाई सबैभन्दा पहिले जनमुखी, पारदर्शी र जवाफदेही बनाउने मेरो पहिलो उद्देश्य हो ।”

अहिले जति पनि विकास भएको छ, त्यो प्राथमिकता र योजनाका आधारमा नभई पहुँचका आधारमा भएका छन् । पहुँचको विकासलाई तोड्दै मौलिक अवधारणामा विकास अगाडि बढाउँछु ।

यसअघिका जनप्रतिनिधिले थालेका जति पनि योजनाहरू छन्, त्यसलाई समयमै गुणस्तरसहित सम्पन्न गर्ने कार्यलाई पनि प्राथमिकता दिइने प्रमुख हमालले बताउनुभयो । 

उहाँले ‘हाम्रो धनगढी हामी आफैँ बनाउँछौँ’ भन्ने भावनाका साथ धनगढीमा बस्ने, धनगढी बाहिर बस्ने र धनगढीलाई माया गर्नेहरूलाई एकीकृत गरेर विकासदेखि लिएर हरेक कार्य अगाडि बढाइने उल्लेख गर्नुभयो । “इमानदारिता, इच्छाशक्ति र राम्रो ‘प्लानिङ’ चाहिन्छ, यी तीन कुरामा ध्यान दिएर अगाडि बढ्छौँ,” हमालले भन्नुभयो । हरेक चुनौतीलाई स्वीकार गरेर अगाडि बढ्न गाह्रो रहे पनि असम्भव भने नरहेको उहाँको ठहर छ । उहाँले भन्नुभयो, “सबै अवरोध हटाएर हामी अगाडि बढ्छौँ र जुन लक्ष्य निर्धारण गरेका छौँ, त्यो प्राप्त गर्नेछौँ ।”