• १२ पुस २०८१, शुक्रबार

हावाहुरीको जोखिम न्यूनीकरण

blog

वर्षा याम प्रारम्भ हुनअघि हावाहुरी, मेघगर्जन, चट्याङ पर्नु अस्वाभाविक होइनन् । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुनपूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण मानवीय क्षतिका अतिरिक्त भौतिक क्षति पनि भएका समाचार आइरहेका छन् ।

केही दिनयताको हावाहुरीले गर्दा पछिल्ला घटनामा चितवनमा तीनजना र काठमाडौँमा एकजनाले ज्यान गुमाइसकेका छन् । दसजना घाइते भएका छन् । यसैगरी हावाहुरीकै कारण बिजुलीको पोल ढल्दा बिजुली आपूर्तिमा अवरोध पनि सिर्जना भइरहेको छ । यसैकारण चितवनमा तीन दिन बिजुली आपूर्तिमा निकै समस्या आइप-यो । 

मौसमविद्का अनुसार मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र भएकाले वेगयुक्त हावाहुरी तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना बढिरहेको छ । यस भनाइबाट पनि नेपालका विभिन्न भूभागमा आउँदा केही दिनसम्म हावाहुरी तथा पूर्वमनसुनी वर्षाको सम्भावना अधिक रहने अनुमान गर्न सकिन्छ । उन्नत विज्ञान प्रविधिको यो युगमा हावाहुरीका कारण मानवीय क्षति हुनु भनेको आफैँमा विडम्बनापूर्ण घटना हुन् ।

यस्ता घटना भविष्यमा दोहरिन नदिन सरकार तथा सर्वसाधारणले समेत सजगता तथा सावधानी अपनाउनु जरुरी छ । मौसम भविष्यवाणीका क्षेत्रमा विज्ञानले गरेको विकासको सदुपयोग गर्दै हावाहुरीजस्ता प्राकृतिक प्रकोपसम्बन्धी पूर्वजानकारी विभिन्न माध्यमबाट सार्वजनिक गर्न सम्बद्ध पक्षले अग्रसरता लिनु वाञ्छनीय हुन्छ । यसैका आधारमा सर्वसाधारणले हावाहुरीबाट बच्न तथा यस्तो समयमा बाहिर ननिस्किने र घरभित्रै बस्ने वातावरण बनाउन सक्छन् । यसबाट मानवीय क्षति न्यूनीकरणमा सघाउ पुग्न सक्छ । 

सही सूचना समयमा पुग्न सकेको भए हावाहुरीका कारण चितवनमा तीनजना तथा काठमाडौँमा एकजनाले आफ्नो ज्यान गुमाउनुपर्ने अवस्था नआउन सक्थ्यो । यसतर्फ सम्बन्धित निकायले ध्यान पु-याउनु नै पर्छ । यसका अतिरिक्त सर्वसाधारणले हावाहुरी चल्ने समयमा आफू तथा परिवारको रक्षाका लागि पूर्वसावधानी अपनाउनु र त्यत्तिकै सजग हुनु जरुरी छ । यस्तै सूचनाका आधारमा विदेशतिर प्राकृतिक प्रकोप आउनुअघि नै समुचित बन्दोबस्त गरेर धनजनको क्षति न्यूनीकरण गरिरहेका विषयवस्तुबाट राम्रो शिक्षा लिनु जरुरी छ ।

सहरी हरियालीका अवधारणामा विशेषगरी राजधानी काठमाडौँका विभिन्न सडक किनारामा जातजातका अग्ला रुख वृक्षहरू देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट मनोरम देखिने यी रुख वृक्षको उपयुक्त हेरचाह एवं व्यवस्थापनको खाँचो पनि त्यत्तिकै ट्डकारो रूपमा आवश्यक हुन्छ तर अहिले राजधानीका सडक किनाराका यी रुखवृक्षहरू बेवारिसजस्ता प्रतीत भएका छन् जसको संरक्षण, हेरचाह तथा व्यवस्थापनमा सरकारी निकायबीच जुहारी चलिरहेको पाइन्छ । 

निश्चित निकायलाई स्पष्ट तवरले यी वनस्पतिहरूको संरक्षण वा व्यवस्थापनाको जिम्मेवारी नतोकिनु यसको मुख्य कारण मान्न सकिन्छ । फलस्वरूप राजधानीका सडक किनाराका कुनै रुख वृक्ष अजङ्गका देखिन्छन् भने कुनै रुख सुकेनास लागेका वा ठुटेजस्ता पनि । कतै रुख ढलेका र कुनै रुखका हाँगाबिँगा फैलिएर बटुवा तथा सवारी आवागमनमा नै अवरोध गरिरहेका पाइनु सामान्य घटना हुन् ।

देशको राजधानी एवं एक महानगरका लागि यसलाई कति स्वाभाविक वा सामान्य घटना मान्ने ? यसबाट सहरको सौन्दर्यमा अनुकूल वा प्रतिकूल कस्तो प्रभाव पारिरहेको छ ? विचारणीय प्रश्न हुन् । मुलुकको केन्द्रीय सचिवालय थलो सिंहदरबार परिसरमा रुखको हाँगा नछिमोलिएकै कारण हाँगा भाँचिएर टाउकोमा लागेर एक सरकारी कर्मचारीको निधनसमेत भयो । रुखको उपयुक्त तवरले संरक्षण वा व्यवस्थापन हुन सकेको भए हाँगा भाँचिएरै कर्मचारीको ज्यान गुम्दैन थियो होला । संरक्षण तथा व्यवस्थापन हुन नसकेका यस्ता रुख वृक्षहरू राजधानी क्षेत्रमा मात्रै सयौँ छन्, जुन हावाहुरी चलिरहने यो समयमा सबैका लागि खतराका रूप देखिएका छन् ।

सरकार, वन मन्त्रालय, गृह मन्त्रालय वा महानगरले आपसी समन्वयमा यी रुख वृक्षको संरक्षण तथा व्यवस्थापनका सम्बन्धमा उपयुक्त नीतिनियम तर्जुमा एवं कार्यान्वयनका दिशामा लगेर मानवीय एवं भौतिक क्षति हुन नदिन प्रयास गर्नु ढिलाइ भइसकेको छ । अन्यथा बारम्बार रुख वृक्ष तथा हाँगाका कारण मानिसले ज्यान गुमाएका समाचार सामान्य मान्नुपर्ने समय पनि नआउँला भन्न सकिँदैन ।