काठमाडौँ, पुस १० गते । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
डब्ल्यूएनओ नेपाल च्याप्टरले फाइनलमा राष्ट्रिय समाचार समिति (रासस)लाई सडन डेथमा ४–३ गोलले हरायो । निर्धारीत समयको खेल १–१ को बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
यसअघि सेमिफाइनलमा डब्ल्यूएनओ नेपाल च्याप्टरले ललितपुर वडा १६ कलाकार समितिलाई १–० र राससले टिम एभिएमलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गरेका थिए ।
रासस र एभिएमबिचको निर्धारीत समयको खेल गोलरहित बनेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा कलाकार समितिले टिम एभिएमलाई ४–२ ले हरायो । दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् ।
प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । नेवाः पत्रकार राष्ट्रिय दबु ए, नेपाल पत्रकार राष्ट्रिय दबु बी, राष्ट्रिय फोटो पत्रकार समूह, नेवाः कलाकार टिम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) समूह चरणबाटै बाहिरिएको थियो ।
सो प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम वज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । यसैगरी प्रतियोगिताअन्तर्गत नेवाः महिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो । जसमा पत्रकार टिम २–१ ले विजयी भएको थियो
नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०९औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गर्न लागेको हो । श्रेष्ठको १०८औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ ।